काठमाडौं, १० चैत । संसदीय सुनुवाइ समितिले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरेको छ । सोमबार बसेको प्रतिनिधिसभाको संसदीय सुनुवाई समितिको बैठकले पाण्डेको नाम अनुमोदन गरेको हो । कोरोना भाइरसका कारण देशका अत्यावश्यक बाहेक सबै सेवा बन्द भए पनि संसदीय सुनुवाइ समितिको बैठक बसेर राजदूत पाण्डेको नाम अनुमोदन गरेको छ ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै उनको स्थानमा पाण्डेको नाम सिफरिस गरेको थियो । सिरफारिस गरिएका पाण्डेविरुद्ध कुनै उजुरी परेपछि समितिले सोमबार उनको नाम अनुमोदन गरेको हो ।
पौड्याललाई नेपाल ट्रष्टको नाममा रहेको भनिएको मातातीर्थको जग्गा दर्तामा संलग्न भएकाले सोधपुछका लागि पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले बोलाएपछि उनलाई राजदूतबाट फिर्ता बोलाइएको सरकारका अधिकारीले बताउने गरेका छन् ।