Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अतिथिको उपस्थिति विना घोडेजात्रा मनाइने 


    सोमबार, चैत्र १० २०७६
    540
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १० चैत। विगतका वर्षका तुलनामा यस वर्षको घोडेजात्रा भिन्न हुने भएको छ । देश तथा विदेशका विभिन्न व्यक्तित्वको उपस्थितमा मनाइने घोडेजात्रा यस वर्ष अतिथिको उपस्थितिविना नै मनाइने भएको छ । 

    विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्षको घोडेजात्रा पर्व अतिथिहरुको उपस्थिति विना मनाइन लागेको हो । साथै घोडेजात्रामा हुने इभेन्टहरु पनि कटौती गरिएको छ ।

    नेपाली सेनाले हरेक वर्ष टुँडीखेलमा विशेष समारोहमा यस पर्व मनाउदै आएको छ । यो काठमाडौंमा उपत्यकामा मनाइने सांस्कृतिक पर्व घोडेजात्राको अवसरमा मनाइन्छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, कुटनीतिज्ञहरु, कर्मचारीहरुलगायतको उपस्थिति हुने गर्दथ्यो ।

    तर, यस वर्षको घोडाजात्रा अतिथिहरुविना मनाउने नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘टुँडीखेलमा कार्यक्रमचाहिँ हुन्छ, तर बाहिरका कसैलाई पनि बोलाइएको छैन, सेनाको पनि सीमित व्यक्तिको मात्र उपस्थिति रहन्छ ।’

    प्रवक्ता पाण्डेका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष इभेन्टहरु पनि घटाइएको छ । पाण्डेले भने, ‘पहिले २३ वटा इभेन्टहरु हुन्थे, अहिले घटाएर १५–१६ वटा जति इभेन्ट राखिएको छ ।’

    कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २५ जनाभन्दा बढीलाई भेला हुन रोक लगाएका कारण सेनाले पनि घोडेजात्रा कार्यक्रम मनाउने शैलीमा फेरबदल गरेको हो । टुँडीखेलको कार्यक्रमको दृष्य स्याटेलाइटमार्फत् सेनाका ब्यारेकहरुमा लाइभ देखाइने प्रवन्ध मिलाइएको छ ।

    यस वर्षको घोडेजात्रा पर्व चैत ११ गते मंगलबार परेको छ । घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार