काठमाडौं । उद्योग विभागका महानिर्देशकका लागि आधा दर्जन सहसचिवहरुले आकांक्षा राख्दै लबिङ गरिरहेका छन् । सरकार परिवर्तन भएको र हालका महानिर्देशक रामचन्द्र तिवारीको एक बर्ष अवधि पूरा भएका कारण उक्त पद पाउनका लागि सहसचिवहरुको दौडधूप सुरु भएको छ । विगतमा माओवादी लगायत अन्य पार्टी निकट देखिएका सहसचिवहरु पनि अहिले एमाले निकट बन्दै महानिर्देशक बन्ने अभियानमा छन् ।
२६ जना सहसचिवहरुको सरुवा भएसँगै विभागको महानिर्देशक बन्नका लागि अन्य सहसचिवहरु उद्योग मन्त्रालयमा छिर्ने तयारी गर्दैछन् । स्वास्थ्य मन्त्रालयमा कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै सहसचिव मदन भूजेल आफू एमालेनिकट भएको भन्दै महानिर्देशक बन्नका लागि बालकोटसम्म पुगिसकेका छन् ।
विगतमा आधा दर्जन भन्दा आकर्षक जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर तर मारिसकेका भूजेल कहिले जातीय आधारमा अल्पसंख्यक भन्दै त कहिले पार्टीको ट्याग लगाउँदै प्रजिअ बन्न सफल हुँदैआएका छन् । उपसचिव हुँदै निमित्त र सहसचिव भएपछि पनि कपिलवस्तु, रुपन्देही, बाँके, मकवानपुर, काभ्रे, झापा लगायतका जिल्लामा उनी सीडीओ भइसकेका छन् । यी जिल्लामा सीडीओ हुँदा पनि उनको ध्यान कमाउनेतिर बढी केन्द्रित भएको आरोप लाग्दैआएको छ ।
बाँकेको सीडीओ हुँदा गाडी भिरबाट खसालेर गाई मारेको आरोप पनि उनीमाथि लागेको थियो । २०७६ भदौ १३ गते नेपालगञ्जको काञ्जीहाउसबाट विनाअनुमति दैलेखतर्फ लैजान लागिएका २ सय ९१ गाईमध्ये २३ गाई भीरबाट खसालिएको थियो । त्यसमध्ये धेरै गाई घाइते भएका थिए । उक्त गौहत्या प्रकरणमा भूजेलको लापरबाही देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । यद्यपि गौहत्या प्रकरणपछि पनि उनले त्यसपछि झन् महत्वपूर्ण जिम्मेवारी पाउँदैआएका छन् ।
आठ वटा ट्रकमा लगिएका गाईहरु कटकुवा जंगलमा छाडिएका थिए । नौ गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ । जङ्गलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते अवस्थामा फेलपरेका थिए । उक्त घटनापछि स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्दै आन्दोलन नै गरेका थिए ।
सोही प्रकरणपछि उनी त्यहाँबाट सरुवा भएका थिए । सो प्रकरणमा उनीमाथि छानबिन पनि भएको थियो । छानबिनका क्रममा बाँकेमा गाई मारेको प्रकरणमा प्रजिअको भूमिका देखिएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । तर उनलाई कुनै कारबाही भएन ।
गृहमन्त्रालय छाडेपछि उनी प्रदेश नं। १ को आन्तरिक मामिला मन्त्रालयको सचिव बने । त्यसपछि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महत्वपूर्ण महाशाखाको जिम्मेवारी २ बर्षदेखि सम्हाल्दैआएका छन् । बाँकेको सीडीओ हुँदा तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग सुमधुर सम्बन्ध गाँस्न पुगेका भूजेल झापाको प्रजिअ हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध राख्न सफल भएका थिए । प्रदेश १ को आन्तरिक मामिला सचिव रहँदा तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग निकट सम्बन्ध राखेकै कारण उनी स्वास्थ्यमा आउन सफल भएका हुन् । स्वास्थ्यमा आएपछि दुई सचिवबीच विवाद गराएर लाभ आफ्नो स्वार्थ पूरा गराउँदैआएको उनीमाथि आरोप छ । स्वास्थ्यका कर्मचारी सरुवा, प्रमुखहरुको नियुक्ति लगायतका बिषयमा भूजेलले बिचौलियाको भूमिका खेल्दैआएको आरोप लाग्दैआएको छ । उनै भूजेल अहिले उद्योग विभागको महानिर्देशक हुनका लागि बालकोटदेखि एमाले नेताहरुको ढोका ढकढक्याउँदै छन् ।
गृहमन्त्रालयको कसूरजन्य सम्पत्ति ब्यवस्थापन विभागको महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराई अहिलेको अवस्थामा उद्योग विभागको महानिर्देशक चलाउन सक्ने एक्लो दाबेदार हुँ भन्दै हिडिरहेका छन् । पूर्व सहसचिव रुपनारायण भट्टराईका सहोदर भाइ र उनैले सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागको आफूपछिको महानिर्देशक बनाएका प्रेम कांग्रेस निकट मानिन्छन् । मौसम अनुसार पार्टी बदल्न सक्ने खुबी भएका प्रेम लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सचिव रहँदा एमाले निकट भनेर चिनिन्थे ।
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलकै जोडबलमा संसद सचिवालयको सचिव पदमा सरुवा भएका भट्टराईलाई काठमाडौं सरुवा गराउनका लागि उनले संघीय सरकारलाई सिफारिस गरेका थिए । प्रदेशमा रहँदा चाकरीकै भरमा पदमा टिकेका उनै भट्टराई चिरीबाबु महर्जनलाई प्रभावमा पारी ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका थिए । त्यसबेला उनी कांग्रेसको बिल्ला भिरेर ंमहानगरमा गए । ललितपुर महानगरमा उनले मातहतका कर्मचारीलाई सैनिक शैलीमा दबाबमा राखेर स्वार्थ अनुकूल काम गराएको आरोप छ । ललितपुर महानगरमै रहेको बेला भक्तपुरको सीडीओ बन्न चोला बदलेर एमालेमा रुपान्तरित भए ।
प्रजिअको रुपमा भक्तपुरमा रहँदा कांग्रेस नेता दुर्लभ थापासँग निकट सम्बन्ध कायम राखेकै कारण शेरबहादुर देउवाको नेतृत्वमा परमादेशी सरकार बनेपछि उनैको पहलमा सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशक हुन सफल भए । दुर्लभको प्रयास र भूषण राणासँग सम्पत्तिमा गएपछि बोलकबोल अनुसार बुझाउने सर्तमा उनी महानिर्देशक भए । महानिर्देशक रहँदा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, उनका भाइ प्रभुशमशेर सहित परिवारको सम्पत्ति छानबिन गर्ने भनेर हल्ला पिटाएर ठूलो लाभ लिएको आरोप उनीमाथि लाग्दैआएको छ ।
सम्पत्ति शुद्धिकरणका बारेमा परेका उजुरीहरु उनका लागि कमाउने माध्यम मात्र बने । धेरै उजुरीमा उनले विभागका सदाबहार नायबसुब्बा प्रकाश सापकोटामार्फत् करोडौं डिल गरेको आरोप लागेको थियो । उनको कार्यकालमा मुस्किलले २ वटामात्रै सम्पत्ति शुद्धिकरणका मुद्दा अदालतमा दर्ता भएको अभिलेख पाइन्छ । ती मुद्दा पनि घुृसमा कुरा नमिलेकाले दर्ता भएको विभागकै कर्मचारी बताउँछन् । उनै भट्टराई अहिले उद्योगको डीजी ताकिरहेका छन् । कार्यक्षमतामा अति कमजोर, चाकडीमा अब्बल, पद पाएपछि बिचौलियाहरुसँग मात्रै संगत गर्ने र नेतृत्वलाई गन्दै नगन्ने स्वभावका भट्टराईलाई उद्योग विभागको डीजी भए के गर्लान् रु यो प्रश्न उनलाई चिन्नेहरु गर्दछन् ।
उद्योग विभागको डीजीको दौडमा बाणिज्य विभागका महानिर्देशक महेश भट्टराई पनि छन् । द्रुत माध्यमबाट बाणिज्य विभागको डीजी बन्न सफल भएका भट्टराई ४८ घन्टाको बीचमा ३ वटा पद पाउने भाग्यमानी सहसचिव हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट भन्सार विभागको डीडीजी भए लगत्तै उद्योग मन्त्रालयमा सरुवा भएकै दिन बाणिज्य विभागको महानिर्देशक बनेका भट्टराईले त्यसबेला आरजु राणामार्फत् तत्कालीन उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुलाई दबाब दिएर डीजी भएका थिए ।
डीजीको निर्णय गर्दा विभागीय मन्त्री बडुले उनलाई देखेकै थिएनन् । त्यसबेला प्रशासन क्षेत्रमा पावर खेलाउन सक्ने भट्टराई जस्तो हुनुपर्छ भन्ने चर्चा चलेको थियो । अहिले उनी एमाले निकट भई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङमार्फत् उद्योगको डीजी बन्ने अभियानमा छन् ।
उद्योग मन्त्रालयमै कार्यरत सहसचिवद्वय चन्द्रकला पौडेल र लीलाराम शर्मा पनि उद्योग विभागको महानिर्देशकका उम्मेदवार हुन् । चन्द्रकला अर्थमा जाने भने पनि अर्थमन्त्री बिष्णु पौडेलले नपत्याएपछि सिनियर र महिला भएकै कारण आफूले उद्योग बिभागको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेकी छन् । यसअघि ५ महिनामै कार्यक्षमता अभावमा बाणिज्य बिभागको महानिर्देशकबाट सरुवा गरिएका लीलाप्रसाद शर्मा सुदूरपश्चिम घर भएकाले उद्योग बिभागको डीजीका लागि अगाडि सरेका छन् । कार्यक्षमतामा कमजोर, निर्णय गर्दा हरेक फाइलमा रकमको आशा गर्ने स्वभावका उनी आफू मातहतका कर्मचारीलाई सधैं शंकाको दृष्टिले हेर्ने गरेको उनीसँग काम गरेका कर्मचारीहरुको अनुभव छ । सुदूरपश्चिमकै उद्योग मन्त्री भएकाले आफू उद्योगको डीजी हुने आशा उनलाई छ ।
उद्योगको डीजी हुने लबिङमा लागेका सहसचिव कमलप्रसाद भट्टराई आफू अनुकूलका सचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गएपछि उतै लागेका छन् ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
काठमाडौं । ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ भन्ने यो पुरानो गीत निजामती प्रशासनमा पनि चरितार्थ हुने गरेको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend