विराटनगर, ९ चैत । भारतसँग जोडिएका साना नाकाहरु बन्द गर्न प्रदेश १ सरकारले सर्कुलर जारी गरेको छ । प्रदेश सरकारले शुक्रबार संघीय सरकारलाई नाका बन्द गर्न आग्रह गरेको थियो । आइतबार आफैं नाकामा आवतजावत गर्न रोक लगाउन निर्देशन दिएको हो ।
कोरोना संक्रमणका कारण भारतको बिहार राज्यमा एकजनाको मृत्यु भएपछि प्रदेश सरकारले तत्काल साना नाकाहरुमा आवत(जावत रोक्न सर्कुलर जारी गरेको हो ।
प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतसँगसीमा जोडिएका जिल्लाहरुमा नाकामा तत्काल कडाइ गर्न सर्कुलर जारी भएको बताए ।
‘हामीले नाका बन्द गर्न मिल्दैन,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘ठूला नाकामा कडाइ गरेर सानालाई बन्द गर्न सर्कुलर जारी गरेका छौं ।’
यस अघि भारतले काँकडभिट्टा बाहेक अन्य नाका बन्द गर्ने बताएपनि सबै साना नाकाहरुमा आवतजावत सामान्य थियो । आइतबार भारतले जनता कर्फ्यू लगाएको छ । जसका कारण आवत(जावत पातलो छ ।
विराटनगरको रानी, झापाको काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज र सुनसरीको भाण्टाबारी नाकामा कडा चेकजाँच गरी तेस्रो मुलुकका र शंकास्पद व्यक्तिलाई प्रवेश गर्न रोक लगाइने भएको छ ।