काठमाडौं । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे कोरोना संक्रमित भई आइसोलेसनमा छन् । अख्तियार सिल गरी सबैको पीसीआर परीक्षण गरिसकिएको छ ।
अख्तियारपछि अर्को संवैधानिक निकाय सर्वोच्च अदालतमा पनि कोरोना संक्रमित देखिएका छन् । सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाले नै आफ्ना पीएसओलाई कोरोना पोजेटिभ देखिएको कुरा सामाजिक संजाल फेसबुकमै पोष्ट गरेका छन् ।
न्यायाधीश खतिवडाले अपराह्न सामाजिक संजालमा लेखेका छन्– ‘श्रावण २२ गते बिहीवारसम्म मेरो सुरक्षाका लागि खटिएका एकजना तामाङ थरका सुरक्षाकर्मी (पीएसओ) मा कोभिड–१९ पोजेटिभ देखियो । नमुना २६ गते दिएको र नतिजा आज करिब १.३० बजे थाहा भयो । त्यसैले शंकाको अवस्था पैदा भएको छ । मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन । आशा छ, मलाई संक्रमण भएको छैन होला । तथापी सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दूरी कायम राखेर बसेको छु । स्वास्थ्य मन्त्रालयका सम्वन्धित अधिकारीहरुसँग सम्पर्क र प्रारम्भिक परामर्श भएको छ । थप नयाँ कुरा भएमा यथासमयमा सम्प्रेषण गरिने नै छ । यसलाई सहज र सामान्य रुपमा लिइदिनुहुन सवै शुभेच्छुक प्रियजनमा अनुरोध छ ।’
उनले लेखेको स्टाटसमा न्यायाधीश हरि फुयाँलले आफू पनि खतिवडासँग एउटै इजलासमा बसेकाले सुरक्षित रहने उल्लेख गरेका छन् ।