Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सडक निर्माणको ३३ लाख हिनामिना गर्ने अध्यक्षमाथि कारबाहीको माग


    बुधबार, साउन २८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सडक निर्माण नै नगरी कीर्ते बिल पेश गरेर ३३ लाख रुपैयाँ हिनामिना गर्ने कोटेश्वरको शुभकामना मार्ग टोल सुधार समितिका अध्यक्ष भगवान गिरीमाथि कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २०७७ साउन २८ मा उजुरी दर्ता भएको छ ।

    काठमाडौं महानगरपालिका वडा नं. ३२ शु्भकामना टोल सुुधार समितिका अध्यक्ष गिरीले संस्थाका पदाधिकारीदेखि सदस्यसम्म कसैलाई पनि जानकारी नदिई संस्थाको उद्देश्य र विधान विपरीत कार्य गरेकाले कारबाहीका लागि निवेदन पेश गरेका छन् । दर्ता नम्बर १४४–०६८–६९ रहेको शुभकामनामार्ग टोल सुधार समितिको ११ सदस्यीय कार्यसमितिका सदस्यमध्ये १० जनाले उजुरीमा हस्ताक्षर गरी सडक निर्माणको लागि ल्याएको रकम हिनामिना गर्ने गिरीमाथि कारबाहीको माग गरेका छन् ।

    समितिका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबारमा दिएको उजुरीको दर्ता नम्बर २३० हो । उजुरीमा अध्यक्ष गिरीले २ बर्षदेखि एक पटक पनि कार्यसमितिको बैठक नराखेको र बार्षिक साधारणसभा समेत नगरेको उल्लेख छ । उनले संस्थासँग सम्बन्धित सम्पूर्ण निर्णयका कागजात तथा लेखासम्बन्धी कागजातहरु स्वयं राखेका छन् । २०७२ माघ २ मै गिरी कार्यसमितिको दुई बर्षको कार्यकाल समाप्त भए पनि हालसम्म पनि उनले विधानविपरीत काम गरिरहेको उजुरीमा उल्लेख छ, समितिका साधारण सदस्यहरुले पटक–पटक बार्षिक साधारणसभा बोलाउन माग गर्दै अस्वीकार गर्दैैआएका छन् । २०७२ देखि हालसम्मको आम्दानी खर्चको कार्यसमितिका सदस्यलाई समेत कुनै जानकारी नभएकाले संस्थाको सम्पूर्ण कागजात झिकाई छानबिन गर्न र यो निवेदनको टुंगो नलागेसम्म संस्थाको नाममा कुनै कार्य नगर्न नगराउन माग गरिएको छ ।

    शुभकामनामार्ग टोल सुधार समितिका पदाधिकारी र सदस्य समेत १० जनाले दिएको उजुरीमा उल्लेख छ–‘हामी बसोबास गरिआएको काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित शुभकामना मार्गमा ६ मिटर चौडाईको जी.एल.डी. सडक निर्माण गर्दा ब्यक्तिको पर्खालहरु भत्किन गएकाले पर्खाल निर्माणको लागि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट रु. ३३ लाख ४ हजार उपलब्ध भएकोमा सो रकम कार्यसमितिमा छलकपट गरी अध्यक्ष भगवान गिरीले आफ्नो ब्यक्तिगत खातामा ट्रान्सफर गरेको पाइयो । उक्त रकम समितिको नाममा जम्मा गर्न बारम्बार अनुरोध गर्दा समेत रकम जम्मा नगरी सरकारी रकम हिनामिना गरेकाले कानुन बमोजिम कारबाही गरी सो रकमको सावाँ ब्याज समेत असुलउपर गरिदिनुहुन अनुरोध गर्दछौं ।’

    विभिन्न संस्था र ब्यक्तिबाट २०७२देखि हालसम्म समितिको नाममा प्राप्त रकम कार्यसमितिको निर्णय र योजनाविना स्वयं मनपरी खर्च गरी आम्दानी खर्चको कुनै अभिलेख नराखेको, विधान बमोजिम सचिव र कोषाध्यक्षलाई कुनै जिम्मेवारी नदिएको, आम्दानी खर्चको लेखापरीक्षण गरी कार्यसमिति र साधारणसभाबाट अनुमोदन गर्नुपर्नेमा सो समेत नगरेको उजुरीमा उल्लेख छ ।

    सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ अनुसार कुनै उपभोक्ता समिति वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउँदा सो नियम बमोजिम गर्नुपर्नेमा नियमावली विपरीत कार्यसमिति र साधारणसभाको निर्णय विना मनोमानी ढंगले कार्य गरेकाले नियम ९७ को उपनियम १३ बमोजिम समेत छानबिन र कारबाही गर्न माग गरिएको छ ।

    फोटोः अध्यक्ष भगवान गिरी र शुभकामना मार्ग ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार