Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाले विधान मिचेर आफूलाई बहादुर ठाने – वरिष्ठ नेता पौडल


    बुधबार, साउन २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन्।

    सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उनमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरेका हुन्।

    विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको उनको भनाइ छ। “हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण गर्दै आयौं। तर, हाम्रो सभापतिलाई विधान मिच्नु बहादुरी हो भन्ने लागेको छ,” उनले भने “विधान मैले जति मिच्न सकेँ त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ। त्यसले यो डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएका छौं।”

    सभापति देउवालाई विधान मिच्ने बानि परिसकेको पौडेलले आरोप लगाए। आफू बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरू गठन गरेको टिप्पणी पौडेलले गरे।

    “उहाँलाई मिच्ने बानी पर्‍यो। मलाई सम्झना छ, एकाताका यो देशमा कानून तोड्यो भने गृह मन्त्रीले तोडछ र म गृहमन्त्री हुँ भन्दै धाक लगाएर हिंडनुहुन्थ्यो। उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे,” उनले भने, “अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ। यो बहादुरीले कांग्रेसलाई क्षति पुर्‍यायो। यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्‍यो, क्षति पुर्‍यायो र घायल बनायो।”

    पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्नसक्छ भन्दै आफूले ३ वर्षअघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापतिले नमानेको आरोप पौडेलले लगाए।

    महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको भन्दै पौडेलले असन्तुष्टि व्यक्त गरे।

    चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनैपनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए। “अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ। मान्छे भर्ना गरेर नाम पत्रिकामा छपाएर महाधिवेशनलाई प्रभावमा पार्न खोज्नु भएको छ,” उनले प्रश्न गरे, “उहाँको चार वर्षे कार्यकाल सकिएपछि कामचलाउ सभापति र कामचलाउ कार्यसमितिले यसरी नियुक्ति  गर्न मिल्छ?”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार