काठमाडौँ। गत शनिबार पुस २ मा बैतडीको पाटनमा शिक्षक धनबहादुर विष्ट मृत अवस्थामा भेटिए । जिल्लाको सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
उक्त हत्या गरेको आरोपमा प्रहरीले कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्यय गरिरहेकी पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पक्राउ गरेको हो। पुर्चौडी नगरपालिका घर भएकी विमला बोहोरा कृष्ण माविको छात्रावासमा बसेर पढ्थिन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुको हत्यामा संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए। छात्राबासको तल्लो तलामा ती युवती आफ्ना भाइहरुसँगै बसेर पढ्दै आएकी थिइन्। घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही विषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ
यस घटनाबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दैछ । छात्रावासको माथिल्लो तलामा बस्ने शिक्षक विष्ट छात्रावास पछाडि मृत भेटिएका हुन् । मृतकका परिवारले शव बुझेका छैनन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।