काठमाडौं । सर्वाेच्च अदालतले कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएसँगै उनलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वाेच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन् ।
बुधबार सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन निर्देशन दिएको थियो ।
योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो । केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार जिल्ला अदालत भक्तपुरबाट पत्र आएपछि आज बिहीबार उनलाई अध्यागमन विभागमा बुझाइने छ ।