काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट चरणका खेलहरु स्थगित भएका छन्। कोरोना भाइरसको जोखिम बढेको भन्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार एसिया क्षेत्रको विश्वकप छनोटका खेल स्थगित गरेको हो।
तर अखिल नेपाल फुटबल संघले भने यही प्रतियोगिता लक्षित गर्दै तयारी सुरु गरिसकेको थियो ।
यसका लागि भदौ १ गतेदेखि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्ने तयारी रहेको थियो। सोही अनुसार बन्द प्रशिक्षणमा रहेन ३४ खेलाडी, प्रशिक्षक, व्यवस्थापकसतिको कोरोना परीक्षणका स्वाब संकलन गर्ने देखि लिएर प्रशिक्षण प्रोटोकल समेत तयार भैसकेको थियो ।
एएफसीले सन् २०२२ विश्वकप र सन् २०२३ को एसियन कप छनोटका खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ। विश्वकप र एसियन कपको छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा हुने तालिका थियो। यसअघि एएफसीले कोरोनाकै कराण गत मार्च र अप्रिलका लागि तय भएको छनोट प्रतियोगिता स्थगित गरेको थियो।
सन् २०२१ सम्मका लागि छनोट खेल स्थगित गरेपनि एएफसीले छनोटको नयाँ मिति भने घोषणा गरेको छैन।