Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार बनिन् कमला ह्यारिस


    बुधबार, साउन २८ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । अमेरिकामा यो पदका लागि प्रतिस्पर्धा गर्ने ह्यारिस पहिलो काला जातिकी महिला बन्नेछिन् । यसअघि अमेरिकामा दुई पटक मात्र महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको थियो । सन् २००८ मा रिपब्लिकन पार्टीले सारा पेलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । त्यस्तै सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । यद्यपि दुवैले निर्वाचन भने जित्न सकेका थिएनन् ।

    अमेरिकाका दुवै पार्टीले अहिलेसम्म अश्वेत महिलालाई राष्ट्रपति पदको उम्मेदवार बनाएका छैनन् । अहिलेसम्म अमेरिकामा कुनै महिलाले राष्ट्रपतिको निर्वाचन जित्न सकेका पनि छैनन् ।

    क्यालिफोर्नियाकी सांसद कमला ह्यारिस कुनै समय जो बाइडनलाई नै राष्ट्रपति पदको उम्मेदवारको लागि चुनौती दिइरहेकी थिइन् । तर, राष्ट्रपतिको उम्मेदवारको दौडबाट बाहिरिएसँगै उनलाई बाइडनले निर्वाचनमा आफ्नो साथीको रुपमा छान्न सक्ने चर्चा चल्दै आएको थियो ।

    कमला ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि बनिसकेकी छिन् । उनी प्रहरीमा सुधारको पक्षमा वकालत गर्दै आएकी छिन् । रिपब्लिकन पार्टीको तर्फबाट भने राष्ट्रपति पदको लागि डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्नेछन् भने उपराष्ट्रपतिमा अहिलेका उपराष्ट्रपति माइक पेन्सले नै प्रतिस्पर्धा गर्नेछन् ।

    बाइडनले कमला ह्यारिसलाई आफ्नो उपराष्ट्रपतिको लागि चयन गर्दै उनी एक निडर योद्धा रहेको बताएका छन् । बाइडनले क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा ह्यारिसले गरेको काम आफूले प्रत्यक्षरुपमा देखेको बताएका छन् । उनको कामबाट पहिला पनि आफूले गर्व गर्दै आएको र अहिले पनि उनलाई आफ्नो सहयोगीको रुपमा छान्न पाउँदा खुसी लागेको पनि बताएका छन् ।

    कमला ह्यारिसले पनि आफूलाई उपराष्ट्रपति बनाएकोमा खुसी व्यक्त गरेकी छिन् । उनले बाइडनले अमेरिकीहरुलाई एक बनाउन सक्ने बताएकी छिन् । बाइडनले अमेरिकी नागरिकको पक्षमा लड्न आफ्नो पूरा जीवन लगाएको ह्यारिसको भनाइ छ । उनले बाइडनलाई राष्ट्रपति बनाउन आफूले सक्दो सहयोग गर्ने पनि उल्लेख गरेकी छिन् ।

    ट्रम्पले भने– अमेरिकाको लागि यो जोडी खराब छ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जो बाइडनले कमला ह्यारिसलाई आफ्नो सहयोगी चयन गरेकामा निराशा व्यक्त गरेका छन् । उनले यी दुवैजना अमेरिकाको लागि खराब रहेको बताएका छन् ।

    ट्रम्पले कमला ह्यारिसले धेरै झुटा कहानीहरु सुनाएको भन्दै उनको आलोचना गरे । साथै प्राइमरी चुनावमा पनि उनको प्रदर्शन राम्रो नरहेको अवस्थामा बाइडनले उनलाई किन छनोट गरेका हुन् भन्दै प्रश्न गरेका छन् । ट्रम्पले प्राइमरी बहसको क्रममा कमला ह्यारिसले बाइडनप्रति निकै अपमानजनक व्यवहार देखाएको भन्दै यस्तो व्यक्तिलाई छनोट गर्नु निकै कठिन हुने ट्रम्पको भनाइ छ ।

    को हुन् कमला ह्यारिस ?

    ५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा अमेरिकाको राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । कमला ह्यारिसका आमाबुबा आप्रवासी नागरिक थिए । उनकी आमाको जन्म भारतमा भएको थियो भने पिता जमैकाका थिए । ह्यारिसले हावर्ड युनिभर्सिटीबाट आफ्नो अध्ययन पूरा गरेकी थिइन् । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता बनेकी थिइन् । यो पदमा पुग्ने उनी पहिलो महिला र पहिलो अफ्रिकी–अमेरिकी थिइन् ।

    कमला ह्यारिस दुईपटक महान्यायाधिवक्ता बनिन् र सन् २०१७ मा उनी सांसद बनेकी थिइन् ।

    ओबामाको प्रतिक्रिया

    अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले ह्यारिस यो पदका लागि पूर्णरुपमा तयार रहेको बताएका छन् । ह्यारिसले आफ्नो जीवनकालमा संविधानलाई बचाउनका लागि काम गरेको र जसलाई वास्तवमा न्याय चाहिएको थियो, त्यस्ता मानिसको पक्षमा लडेको ओबामाले उल्लेख गरेका छन् । उनले ह्यारिसलाई उपराष्ट्रपतिको रुपमा छान्नु अमेरिकाको लागि राम्रो कुरा रहेको बताएका छन् ।

    त्यस्तै ओबामाको पालामा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेकी र उपराष्ट्रपति पदको लागि प्रबल सम्भावना रहेको बताइएकी सुजन राइसले पनि कमला ह्यारिसलाई बधाई दिएकी छिन् । बीबीसी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार