काठमाडौँ । सामाजिक सञ्जालमा भेलुबाजेका नामले परिचित मिनबहादुर बुढाले समाजमा विकृति फैलाएको भन्दै नियन्त्रण गर्न माग गरिएको छ । प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापनपत्र बुझाउँदै झिमरुक-३ का सुवास जिसीले भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनका गतिविधिहरु रोक्नुपर्ने बताए ।
सामाजिक सञ्जालमा छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोकेमा त्यसबाट सामाजिक मुल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुन सक्ने उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन् । उनलाई प्रोत्साहन गर्ने युट्युबर र व्यक्तिहरुलाई नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्न जिसीले आग्रह गरे ।
‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
