काठमाण्डाै । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण नेपालमा थप चार जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा ललितपुर, मोरङ, रुपन्देही र सप्तरीमा गरी तीन पुरुष र एक महिला छन् । बुधबारसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ ।
मंगलबार राति ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको अस्पतालले जनाएको छ । गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिला आईसीयूमा उपचाररत थिइन् ।
यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु-२ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा मंगलबार राति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए ।
ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षका पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ । यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।
यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षका वृद्धको ज्यान गएको छ । कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उनको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उनको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।