जनकपुरधाम । करोडौंको दाइजो लिएर अझै दाइजो पुगेन भन्दै श्रीमातीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका डा.पंकज चौधरीका पिता रामप्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्धा दर्ता गरेका छन् ।
फरार सूचिमा रहेका रामप्रवेश चौधरीले हिजो बिहीबार स्वयम अदालतमा हाजिर भई थुनामा रहेका ३५ वर्षीय छोरा पंकजलाई थुनामुक्त गराउन बन्दी प्रत्यक्षीकरणको मुद्धा दर्ता गराएका हुन् ।
पंकजलाई प्रहरीले दाइजोको निहुमा श्रीमाती नेहा चौधरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । हाल उनी महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
घरेलु हिंसा गरेको भन्दै नेहाले ससुरा रामप्रवेशसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले नेहाका श्रीमान पंकजलाई मात्र प्रक्राउ गरेको छ । तर, नेहाले आफूमाथि हिंसा गर्ने सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै बिहीबार रामगोपालपुर नगरपालीकामा सडक आन्दोलनमा होमिएकी थिइन् ।
उनीसँगै कुमारी आमा निहारिका राजपुत पनि आन्दोलनमा होमिएकी थिइन् । उनीहरू विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलनमा उत्रिएका थिए । तर नेहाका सासू र ससुरा भने घरमा ताल्चा लगाएर घरबाट फरार भएका थिए।
उक्त प्रदर्शनका क्रममा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा र कुमारी आमा निहारिकालाई प्रहरीले पक्राउ गरेको थियो ।