काठमाडौँ। नेपाल वायु सेवा निगममा कार्यरत क्याबिन क्रु आन्दोलनमा उत्रेपछि दिल्ली उडान प्रभावित भएको छ । सो विषयलाई लिएर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित वार्ता चलिरहेका बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरु प्रवेश गरेपछि निगममा तनाव उत्पन्न भएको छ ।
निगमका क्याबिन क्रु संघ र ट्रेड युनियनका पदाधिकारीहरुबीच हात हालाहाल भएपछि निगमको गेटभित्र प्रवेशमा रोक लगाइनुका साथै त्यहाँको सुरक्षा पनि बढाइएको छ ।
निगममा अहिले वार्ता बिथोलिएको छ । संघले ट्रेड युनियनका नेताले पुरुष परिचारकलाई हातपात गरेको, कागजात खोसेको, अश्लिल गालीगलौज गरेको भनेका छन् । घाइते भएकी परिचारिका पूजा सहनीले पुरुष कर्मचारीले हातपात गर्दा आफ्नो बायाँ कानबाट रगताम्य भएको बताइन् ।
प्रहरीले ट्रेड युनियनकर्मीलाई नियन्त्रण लिएर प्रहरी भ्यानमा राखेपछि निगमका कर्मचारीले दुवै गेटमा ताला लगाइदिएको छ ।
करार सेवामा कार्यरत नेपाल वायुसेवा निगमका १ सय बढी एयर होस्टेज (क्याविन क्रु) आन्दोलनमा उत्रिएका छन् । म्याद सकिनेबित्तिकै करार अवधि थप गर्न र जागिरको सुनिश्चितताको माग गर्दै निगमको केन्द्रीय कार्यालय सुन्धारामा उनीहरूले धर्ना दिएका हुन् ।