काठमाडौं । कोरोना भाइरस संक्रमण ह्वात्तै बढेपछि सरकारले सेवाग्राहीको बढी जमघट हुने सबै खालका जनसम्पर्क हुने कार्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । सरकारले बढी जनसम्पर्क हुने सरकारी सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ । मालपोत, नापी, यातायात कार्यालयहरुमा सेवाग्राहीको भीडभाड हुने भएको र कोरोना संक्रमण फैलिनसक्ने देखेर सरकारले अनिश्चितकालका लागि ती कार्यालय बन्द गरेको हो ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यका र २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवाप्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने ।’
सरकारले होटल तथा रेष्टुरेण्टको सेवा खुला गरेकोमा अब होटल तथा रेस्टुरेन्टबाट तयार गरिएका खाद्यपरिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय गरेको छ ।
संक्रमणको जोखिम बढ्दै गएको देखिएको हुँदा धार्मिकस्थलहरूमा दैनिक नित्य पूजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्ने नगराउने निर्णय पनि भएको छ । चाडपर्वहरू आ–आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर मनाउन पनि सरकारले आग्रह गरेको छ ।
नेपाल प्रवेशका लागि तोकियो यी १० नाका
यसैगरी शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना हाल सञ्चालन निषेधकै अवस्थामा रहेको हुँदा सम्बन्धित मन्त्रालयबाट यसको नियमित अनुगमन गरी कडाइका साथ पालना गर्ने गराउने एवं उल्लङ्घन गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने पनि खतिवडाले बताए ।
यस्तै भारतबाट नेपाल आउनै पर्नेका लागि १० वटा सीमा नाका खुला गरिएको छ भने यो प्रयोजनका लागि बाहेक अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ सम्मको लागि बन्द गरिएको छ । योबीचमा पनि दुवानीका साधन सञ्चालनमा भने बाधा पर्ने छैन ।