काठमाडौं । कतारको राजधानी दोहामा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समिकरण पूर्ण भइसकेको छ ।
उक्त विश्वकप फुटबलको क्वाटरफाइनलको समिकरण पूर्ण भएसंगै सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा तीन जना खेलाडी प्रतिस्पर्धाको बलियो पोजिसनमा देखिएका छन्।
सेमिफाइनल पुगेको फ्रान्सका दुई खेलाडी र अर्जेन्टिनाका एक खेलाडीबीच एक जनाले गोल्डेन बुट जित्न सक्ने बलियो सम्भावना देखिएको छ। जसमध्ये फ्रान्सका २३ वर्षीय केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा रहेका छन्। एमबाप्पे ५ गोल र दुई असिस्टसहित शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको नाममा ४ गोल र २ असिस्ट छ।
विश्वकपमा बढी गोल गर्ने खेलाडीलाई यो गोल्डेन बुट प्रदान गरिन्छ । सर्वाधिक गाेलकर्ताकाे गाेल बराबर भएमा त्यसमा असिस्टलाई गणना गर्ने गरिन्छ ।
यस्तै फ्रान्सकै ओलिभर जिरोडले पनि ४ गोल गरेका छन्। सेमिफाइनल पुगेको अर्को टोली मोरक्कोका सर्वाधिक गोल गर्ने खेलाडी रहेका युसेफ एन नेस्रीको नाममा २ गोल रहेको छ। शनिबार भएको खेलमा एमबाप्पेले गोल गर्न नसकेपछि तीन खेलाडीबीच बलियो प्रतिस्पर्धा देखिएको हो।
जिरोडले गोल थप्दै एमबाप्पेसँगको अन्तर घटाए। यसअघि मेस्सीले पनि क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गरेका थिए।
यस्तै, सन् २०१८ मा ६ गोल गर्दै इंग्ल्याण्डका ह्यारी केनले यो अवार्ड जितेका थिए। २०१४ मा भने ६ गोल नै गर्दै कोलम्बियाका जेम्स रोड्रिगेज तथा २०१० मा जर्मनीका थोमस मुलरले ५ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए।