काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् । उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड-१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्ने शुभकामना दिएका हुन् । मन्त्री ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा विश्वासिला र प्रिय मन्त्री हुन् ।
मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लडन मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।
उनले महामारीबाट बाँचियो भने सत्ताको लडाईं फेरि पनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे । सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्न समेत उनले आग्रह गरे ।
उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए । कुनैबेला पीपीई भएन भनेर सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको उनले बताए । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको उनले बताए । अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताए । जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पारे ।
मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताएका छन् । संक्रमणको अवस्था समुदाय स्तरमा देखिएपनि नियन्त्रणको स्थितिमा नै रहेकोले आतिनुनपर्ने उनले बताए । अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका लागि गरिएका कार्यहरु प्रभावकारी भएको उनको भनाई थियो । अप्ठेरो यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न उनले सबै पक्षसँग आग्रह समेत गरे ।