जनकपुरधाम । कोरोना संक्रमणबाट जनकपुरधाममा थप एकजनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्र्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
१८ दिनदेखि आईसीयूमा राखेर उपचार गराउँदैआएका ती पुरुषको गएराति निधन भएको थियो । मृतक क्षयरोग र निमोनियाबाट पनि पीडित रहेका अस्पतालले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो, “मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।”
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताउनुभयो । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
सोमबार पनि जनकपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भम्एको थियो । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।