काठमाडौँ। बाजुरामा चेतन हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्षलाई बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा वडाध्यक्ष जुद्धबहादुर अयडीलाई आज पक्राउ गरेको हो। जुद्धबहादुर नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष हुन् ।
मृतक चेतनका परिवारले हत्यामा संलग्न भएको भन्दै वडाअध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाजुराले चेतन मृत्यु प्रकरणमा किटानी जाहेरीपछि वडाअध्यक्षलाई पक्राउ गरिएको जानकारी दिएको छ । जुद्धबहादुरलाई पक्राउ गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वडाअध्यक्ष जुद्ध एक महिना अघि पनि नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए । उनी जिल्ला अदालत बाजुराबाट एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
मंसिर ४ गते भएको निर्वाचनमा मतदान सकिने बेलामा मतदानस्थलमा फर्जी मत कसले खसायो ? भन्ने विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद चर्किएपछि दुई पक्षीय झडप भएको थियो । मतपेटिका खोसाखोसको अवस्था सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर सोही ठाउँका २६ वर्षका सञ्जिव अयडीको मृत्यु भएको थियो । सो घटनामा प्रहरीसहित केही व्यक्ति घाइते भएका थिए ।