Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पशुपतिमा विशेष पूजा बन्द


    आइतबार, चैत्र ९ २०७६
    795
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ९ चैत । कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

    कोषले भक्तजनसँग पूजाका लागि तोकिएको शुल्क लिएर विशेष रुद्राभिषेक गर्ने व्यस्था गरेको थियो । विशेष पूजाका लागि धेरै भक्तजनको रुची पनि बढ्दै गएको थियो । कोषका लागि आम्दानीको स्रोत पनि बनेको विशेष पूजा कोरोना भाइरसको सतर्कता लागि २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने नियमका कारण स्थगित गरिएको हो ।

    यसले पशुपतिको नित्य पूजामा कुनै प्रभाव नपर्ने उनले बताए । पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति आउने सबै भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाएर आउन पनि कोषले आह्वान गरेको छ ।

    पशुपति मूल मन्दिरभित्र दर्शनका लागि छिर्ने भक्तजनलाई पश्चिम ढोका अघि साबुन, पानी, स्यानिटाइजर लगायत सुरक्षाका उपाय पनि अललम्बन गरिएको छ । यसैगरी पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ । चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि अहिलेलाई स्थगित गरिएको छ ।
    पशुपतिमा हुने गङ्गा आरतीमा आइतबारदेखि २५ जनाभन्दा कम मानिस मात्र सहभागी हुनेछन् । कोरोनाको त्रास कम भएपछि अहिले स्थगित गरिएका विशेष पूजा लगायत यज्ञादि पनि गरिने जनाइएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार