काठमाडौं। काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी गरेको अभियोगमा पेस्तोलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
धादिङ खनियाबास गाउँपालिका–४ घरका ३८ वर्षीय मनिला तामाङसहित ६ जनालाई हिजो बुधबार प्रहरीले पक्राउ गरेको हो।
भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले सञ्चालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१प ६२१७ नम्बरको मोटरसाइकल र घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर समेत फेला पारी प्रहरीले बरामद गरेको छ।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।