काठमाडौँ । यही ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो । मतदानका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । हालको मौसमी विश्लेषणअनुसार निर्वाचनका दिन मौसम सफा रहने महाशाखाका मौसमविद् हीरा भट्टराईले बताए ।
महाशाखाले जारी गरेको प्रारम्भिक मौसम पूर्वानुमान अनुसार मङ्सिर २ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मङ्सिर ३ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाले भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी मङ्सिर ४ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।