Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेलभित्रै क्रिकेट खेलेर समय बिताउँछन् सन्दीप


    बुधबार, कार्तिक २३ २०७९
    660
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने अहिले पुर्पक्षका लागि जेलमा छन् । जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई गएको हप्ता जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाउने निर्देशन दिएको थियो ।

    एक क्रिकेट खेलाडीमा जुनसुकै अवस्थामा पनि बल र ब्याटप्रतिको गज्जबको माया मोह हुने गर्दछ त्यस्तै सन्दिपमा पनि भेटिएको छ। उनी अहिले जेलभित्र कैदीबन्दी र जेल प्रशासनको सहयोगमा क्रिकेट खेल्ने थालेका छन् । काठमाडौँको सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने गरेका छन् । त्यहाँ प्रशासनले खानेदेखि खेलकुदसम्मका नियम बनाएको छ । त्यहाँ पाउने सेवा सबै कैदीबन्दीलाई समान छ ।

    सन्दीपमाथि नाबालिका किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोग छ । ‘प्राप्त प्रमाणहरूको आधारमा यी प्रतिवादी निर्दाेष रहेछन् भन्ने मान्न नमिल्ने’ भन्दै जिल्ला अदालतले मुद्दाको किनारा नलाग्दासम्म उनलाई थुनामा पठाउने आदेश दिएको थियो । 

    १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा गत असोज २० मा उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियाे । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ मा मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

    मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) बमाेजिम १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बयान दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार