काठमाडौँ । तान्जानियामा एक यात्रुवाहक विमान अवतरण गराउने क्रममा भिक्टोरिया तालमा खसेर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने २६ जना गम्भीर घाइते भएका छन्। दर ए सलाम विमानस्थलबाट बुकोबाका लागि ४३ जना यात्रु बोकेर उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको बताइएको छ।
प्रेसिजन एयरको उक्त विमान खराब मौसमका कारण दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ । विमानका दुई पाइलट भने दुर्घटनापश्चात पनि सकुशल रहे पनि पछि मृत्यु भएको हुन सक्ने तान्जानियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उद्धारकर्ता र स्थानीयहरू दुर्घटनामा परेका मानिसहरूको उद्धार कार्यमा खटिएका छन् । विमानस्थलमा अवतरणका लागि झर्दै गर्दा विमान पानीमा डुबेको देखेको विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त ताल बुकोबा विमानस्थलबाट धेरै नजिक रहेको अफ्रिकाको सबैभन्दा ठूलो तालसमेत हो । राष्ट्रपति सामिया सुलुहु हसनले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन् ।