काठमाडौं। चालु आर्थिक बर्ष २०७९/८० को पहिलो दुई महिनाको (भदौसम्म)मा मुलुकमा निर्यात तथा आयात दुबै घटेको छ । कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको भदौ मसान्तसम्मको प्रतिवेदन अनुसार यस अवधिमा निर्यात तथा आयात दुबै घटेको हो ।
सो अनुसार चालु आर्थिक बर्षको दुई महिनामा कुल वस्तु निर्यात ३४ दशमलव ९ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैंयाँमा सिमित भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो निर्यात १ सय १५ दशमलव चार प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले घटेपनि अन्य मुलुकतर्फको निर्यात भने १३ दशमलव दुई प्रतिशतले बढेको देखिएको छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुहरुको निर्यात भने घटेको देखिएको छ ।
चालु आवको पछिल्लो दुई महिनामा कुल वस्तु आयात भने १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ६० करोड रुपैंयाँमा सिमित भएको राष्ट्र बैंकको भनाई छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव नौं प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः नौं दशमलव पाँच प्रतिशत, १३ दशमलव तीन प्रतिशत र २० दशमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेपनि सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात भने घटेको छ ।
आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु व्यापार घाटा ९ दशमलव चार प्रतिशतले कमी आई २ खर्ब ४४ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० दशमलव आठ प्रतिशतले बढेको थियो ।