काठमाडौँ। नेवारी संस्कृतिमाथि आँच आउने गरी व्यङ्ग्य गरिएको भन्दै चार वटा शीर्षकमा हास्य कलाकार(कमेडियन) अपूर्वक्षितिज सिंहमाथि केहि समयआघि प्रहरीमा किटानी जाहेरी परेको थियो। यहि विषयलाई लिएर तारेखमा छुटेका उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पुन: हिरासतमा लिएको थियो। बिहीबार साढे २ लाख धरौटीमा उनी छुटेका थिए।
शुक्रबार अपूर्वक्षितिज सिंहले कमेडी गरेकै भरमा कमेडियनलाई थुनेको यो पहिलो घटना भएको भन्दै फेसबुकमा प्रतिक्रिया दिएका छन्। उक्त विषयको समस्यामा अल्झिएका अपूर्वक्षितिज सिंहले आफू हारे जसले जसलाई पनि मुद्दा हाल्न सकिने ‘नजीर’ बस्ने प्रतिक्रिया दिएका छन्।
‘यो हार्यो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ। कसैले केही बोल्न पाउँदैन,’ उनले भनेका छन्, ‘मान्छे किन देश छोडेर जान्छन् भन्ने मैले बल्ल बुझ्दैछु। तर म जान्नँ, यो केस म जितेर नै छाड्छु। सिए पढेको मान्छे हो, हार्न सिकेको छैन। यो मेरो मात्रै मुद्दा होइन। यो हामी सबै नेपालीको वाक स्वतन्त्रताको लागि हो।’
यस्तै उनले आफूलाई यस मुद्दामा सहयोग गर्ने सहकर्मी, साथीभाइलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।
यी मुद्दा सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अदालतमा दर्ता गरेको थियो।
उनीविरूद्ध बयान र सार्वजनिक भएको भिडिओलाई नै प्रमाणको रूपमा पेश गर्दै सरकारी वकिलको कार्यालयले अपूर्वक्षितिजलाई एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।