काठमाडौं । नेपाल सरकारले प्लास्टिकजन्य फूल माला र गुच्छाको आयात, उत्पादन र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएता पनि साउन र भदौमा मात्रै नेपालमा ९२ लाख १८ हजार मूल्य बराबरको २८ हजार ६८५ किलो प्लास्टिकका माला नेपाल भित्रिएका छन् । जुन अघिल्लो महिनाको भन्दा १३ हजार २ सय किलोले बढी हो ।
वन तथा वातावरण मन्त्रालयले गत ४ साउनमा वातावरण संरक्षण ऐन अनुसार राजपत्रमा सूचना प्रकाशित गरेर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो ।
यस्तै सरकारले प्रतिबन्ध लगाएको पहिलो महिना साउनमा ५६ लाख ७६ हजार रुपैयाँको १५ हजार ४४१ किलो यस्ता माला नेपाल भित्रिएको थियो ।
भन्सारका कर्मचारीको मिलोमतोमा प्रतबन्धित प्लास्टिकका फूलहरु निर्वाद रुपमा नेपाल भित्रिने गरेको नेपाली पुष्प व्यपारीहरुको आरोप छ ।
‘भन्सार छलेर लुकाइछिपाइ यस्ता वस्तु ल्याउने व्यापारीको मिलोमतोमा कृत्रिम फूल आयात भएका हुनसक्छन्,’ नेपाल फ्लोरिकल्चर एसोसिएसनका कार्यक्रम संयोजक जेबी तामाङ भन्छन्, ‘हामीले राज्यका विभिन्न निकायलाई यसबारे जानकारी गराइरहेका छौं तर समाधान भएको छैन ।’
आउदै गरेको चाड तिहारको मुखैमा सरकारले प्रतिबन्ध लगाएको वस्तुको आयात वैधानिक तबरबाट हुनु गलत भएको भन्दै एसोसिएसनले यसलाई तत्काल रोक्नु पर्ने माग पनि गरेको छ ।