काठमाडौं। आज आश्विन शुक्ल नवमी अर्थात् आज नवरात्रको नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजा आराधना(उपासना) गरिन्छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो ।
महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारीसाधनको पूजा नगरेकाहरूले आज बलीसहित विश्वकर्माको पूजा गर्ने गर्छन् । आजै नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ । कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको पूजा गरिन्छ ।
आज नेपाली सेनालगायत सुरक्षा निकायले कोतमा रहेको हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा छ । नेवार समुदायमा महानवमीकै दिन भीमसेनको पूजा गरी बली दिने परम्परा छ ।
यस्तै, नौ दिनसम्म आह्वान गरेर घरघरमा पूजा गरेको नवदुर्गाको दशमीका दिन बिसर्जन गरिन्छ । देवीको बिसर्जन दशमीका दिन मात्र हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको पूजा गर्नुपर्छ।
नौ दिनसम्मको नवरात्र अनुष्ठान यो तिथि (महानवमी) मा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ।
त्यस्तै, आज नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती लगायतका विभिन्न मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।