काठमाडौं। हिन्दूको महान पर्व दशैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो रहेको छ । काठमाडौंको नागढुङ्गामा सवारी साधनको चाप बढेसँगै त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेको थियो ।
दसैं लागेसँगै काठमाडौंको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ । यात्रुको भीडभाड पनि उत्तिकै छ । प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको छ ।
यस वर्ष २०७९ को दसैं मनाउन काठमाडौं उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढिरहेको छ । अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौंका सडकमा आज भने सवारी साधनको बाक्लो ताती लागेको छ ।
पोका/पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ । टिकट काटेकाहरु सवारीसाधन कुरिरहेका देखिए भने टिकट नकाट्ने यात्रु सिट खाली रहेका सवारी साधनको प्रतिक्षा गरिरहेका भेटिए । सिट नपाएका ट्रक तथा अन्य सवारी साधनमा समेत गइरहेका थिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दशैं सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए भने बिहीबार ७१ हजार सात सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको सङ्ख्या ८४ हजार पुगेको थियो । आज भने त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जनाए।
आज साँझसम्म झण्डै पाँच लाख मानिसले उपत्यका छाडेने उनको अनुमान छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या यकीन नभएकाले उपत्यका छाड्ने सङ्ख्या त्यसको दोब्बर हुनसक्ने आकलन छ ।
यही असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल तीन लाख ५३ हजार ४८५ बाहिरिएका छन् आज भने झण्डै दुई लाख बाहिरिने अनुमान गरिएको छ । प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरु यसरी बाहिरिएका हुन् । आजदेखि दशैं बिदा भएकाले आज भने सडकमा अत्यधिक भीड रहेको र विभिन्न नाका तथा बसपार्क क्षेत्रमा उपत्यका छाड्ने यात्रुको बाक्लो उपस्थिति रहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ थियो ।
कुन दिन कति यात्रु भित्रिए कति बाहिरिए ?
घटस्थापना अर्थात् असोज १० गते आठ हजार सात सय २९ वटा सवारी साधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधनमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिएका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले बताएको छ ।
असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानबाट ४५ हजार ३३ यात्रु भित्रिएका मा नौ हजार एक सय ६१ सवारी साधनबाट ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।
यस्तै, असोज १२ गते आठ हजार नौ सवारी साधनबाट ४५ हजार दुई सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारी साधनबाट ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारी साधन मार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारी साधनमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए ।
असोज १४ गते शुक्रबार भने सात हजार ४६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ । यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो ।