काठमाडौँ। साताको अन्तिम कारोबारको दिन शुक्रवार पनि सेयर बजार घटेर राताम्मे भएको छ । बिहीवार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ ।
त्यस्तै, म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ भने २२० वटा कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख ८६ हजार४८८ रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको सेयर किनबेच भयो ।
यता मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नविन ब्यालेन्स फन्डको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।