काठमाडौं। हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजबाट सुरु भएको छ। पितृ पक्षको पहिलो दिन आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।