काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरेको हो ।
बोर्डका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी पास भएका छन् ।
परीक्षामा सामेल भएकामध्ये ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बोर्डले बताएको छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।
बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने भएको छ । दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।
कक्षा १२ को नतिजा टेलिफोन र मोबाइलबाट १६०१ डायल गरी निर्देशनअनुसार सिम्बोल नम्बर थिचेर वा एसएमएसबाट NEB टाइप गरी १६०० मा पठाएर प्राप्त गर्न सकिने बताइएको छ । https//www.neb.net.np बाट पनि नतिजा हेर्न सकिन्छ ।