काठमाडौं । हिजो फोहोर फाल्ने बिषयमा बिवाद भएपछि बन्चरेडाँडाका स्थानीय र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसमेत उपस्थितिमा सहमति भएको थियो । बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फोहोर फाल्न रोक लगाएका छन् ।
हिजो सहमति गरेपनि आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् । हिजो (बुधबार) काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जनका विषयमा चार बुँदे सहमति भएको थियो ।
स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मनान्धरले जानकारी दिए । पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गरेको थियो । आरोपी एक जना स्थानीयलाई निःशर्त रिहाइको माग गर्दै उनीहरु आन्दोलित भएको मानन्धरले जानकारी दिए ।