काठमाडौँ । पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त ठाउँ पहिचान गर्न गठित विज्ञ समूहले काम सुरु गरेको छ । विज्ञ समूहले एक महिनाभित्र सम्भाव्यता अध्ययन गरेर पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने सम्भावित ठाउँ पहिचान गरी सिफारिस गर्नेछ ।
मंगलबार दिउँसो बसेको विज्ञ समूहको पहिलो बैठकले प्रत्येक सदस्यले आफ्नो विज्ञताअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आ–आफ्नो क्षेत्रको मापदण्ड तय गर्ने निर्णय भएको छ । विज्ञहरूले तयार पारेको मापदण्डबाट विमानस्थल निर्माणका लागि आवश्यक सूचक तय गरेर ठाउँ खोजी सुरु हुने एक सदस्यले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक ज्ञानेन्द्र देउजाको संयोजकत्वमा १० जनाको विज्ञ समूह गठन गरिएको छ । समूहमा अर्थशास्त्री रामेश्वर खनाल, विकास योजनाविद् प्रा.डा. सूर्यराज आचार्य, सहरी विकासविद् प्रा.डा. संगीता सिंह, वन्यजन्तुविद् प्रेमबहादुर बुढा, वन विज्ञान विशेषज्ञ सुरेशकुमार घिमिरे, मानवशास्त्री/समाजशास्त्री डा. लक्ष्मी सिंह, वरिष्ठ पाइलट कृष्णविक्रम पौडेल (केसी), वरिष्ठ कानुनविद् डा.चन्द्रकान्त ज्ञवाली र हवाई रुट विशेषज्ञ महेशकुमार बस्नेत रहेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।