काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् ।
विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित समयावधिको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रघातीले प्रमाणीकरण गर्नुहुन्न भन्दै शीतल निवासमा दिनहुँजस्तो नागरिक समाजका तर्फबाट टोलीहरू पुगिरहेका छन् । सोमबार राष्ट्रपति कार्यालय पुगेको नागरिक समाजको टोलीसँग कुरा गर्दै राष्ट्रपतिले भनिन्– ‘राष्ट्रको हित सबैको प्राथमिकताको विषय हुनुपर्छ ।’
क्षेत्री समाजका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्रीको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेक प्रमाणीकरणका लागि आफूकहाँ आइसकेको जानकारी पनि दिइन ।उनले भनिन्– ‘नागरिकता विधेयक प्रमाणीकरणको लागि मकहाँ आएको छ । यसबारे धेरै बोल्दिनँ, मैले पाएको अधिकारभित्र रहेर काम गर्नेछु ।’ नागरिकता विधेयक फिर्ता गर्नेतर्फ संकेत गर्दै भण्डारीले इतिहासमा समेत सच्याउन नसकिने गरी काम गर्नुहुँदैन ।
उनले मिचिएको भूमि फिर्ता गर्नतर्फ भन्दा पनि अथवा नक्सामा जारी भएको जमिन फिर्ता गर्नतर्फ भन्दा पनि नागरिकता विधेयकमा मात्रै अल्झनुले नेतृत्वको नैतिकतामा समेत प्रश्न उठ्न थालेको आशय प्रकट गरेकी छिन् । आजको समाचारपत्र दैनिकबाट