काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षबाट सरकारले बर्खास्त गरेका युवराज अधिकारी पत्र नपाएको भन्दै आइतबार कार्यालयमा हाजिर भएका छन् । उनलाई सरकारले शुक्रबार बर्खास्त गरेको थियो ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो । भोलिपल्ट शनिबार भएका कारण उनलाई पर्यटन मन्त्रालयले बर्खास्तीको पत्र दिएको छैन । पत्र नपाएको भन्दै उनी आइतबार कार्यालयमा हाजिर भएका छन् । सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए । सरकारले विभिन्न अभियोगमा छानविन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको थियो ।
अधिकारीमाथि अख्तियारको छानबिन सुरु
अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । निगमले विभिन्न विदेशी कम्पनीहरूसँग गरेको ठेक्का सम्झौताबाट आउने कमिसन जम्मा गर्न अष्टे«लियाको एउटा बैंकमा खाता खोलेको कुरालाई अख्तियारले बढी ध्यान दिएको छ । सबै ठेक्का सेटिङमा दिएको हुँदा ठूलो रकम कमिसन जम्मा गर्न अष्ट्रेलियाको वेष्ट प्याक बैंकमा खाता खोलिएको हो । जनता सेवा प्रालिको नाममा वेष्ट प्याक बैंक अष्ट्रेलियामा खोलिएको उक्त बैंकको खाता नं। ९७९३२० हो ।
उक्त खातामा टर्र्कीको एचआईटिआईटी कम्पनीसँग पाँच वर्षका लागि अमेरिकन डलर ४१ लाख ४४ हजार ४६४.४३ मा (पीएसएस) प्यासेन्जर सर्भिस सिस्टमको सम्झौता गरिएको थियो । निगम स्रोतका अनुसार अधिकारीले सन् २०२१ मार्च २१ ताखेरमा ४० मिलियन अमेरिकी डलरमा इजरायलको एरो स्पेस भन्ने कम्पनीलाई ईन्जिन मर्मतको ठेक्का दिएका थिए । यसबाट आउने कमिसन जम्मा गर्न अधिकारीले वेष्ट प्याक बैंक अष्ट्रेलियामा ईस्टन मनी नेपाल प्रा.लिको नाममा अर्को खाता खोलेका छन् । जसको खाता नं ०३२०५५ हो ।
निगमका कमर्सियल डाइरेक्टर जनक कालाखेतीलाई सन् २०२२ जनवरी २ तारेखमा टर्की पठाएर कमिसनको रकम अग्रिम जम्मा गर्न उक्त खाता खोलिएको बुझिन्छ । अख्तियारले उक्त बैंकसँग सम्पर्क गरेर अनुसन्धान अगाडि बढाएको खण्डमा अधिकारीमाथि कारबाही गर्न यी दुई बैंक खाताले मद्धत पु¥याउने निगम स्रोतले बताएको छ ।
निगमको सुरक्षा गार्ड भर्ना गर्दा समेत अधिकारीले कमिसन खाएको आरोप छ । सेक्युरिटी गार्डको लागि २०७८÷०८÷०५ मा टेन्डर खोलिएको थियो । नेपाल एक्स टु सेक्युरिटी कम्पनीसँगको सेटिङमा खोलिएको उक्त टेण्डरको टुंगो अहिलेसम्म लगाइएको छैन । नेपाल एक्स टु सेक्युरिटीलाई अधिकारीले प्रति सेक्युरिटी मासिक २० हजार ९६९.९० पैसामा टेण्डर हाल्न लगाएको भए पनि त्यो भन्दा कममा कान्तिपुर सेक्युरिटीले प्रति गार्ड मासिक २० हजार ६ सयमा टेण्डर भरेको कारण अधिकारीले निर्णय गर्न मानेका छैनन् ।
निगम स्रोतका अनुसार वार्षिक २ करोड ५० लाखको सेक्युरिटी सम्बन्धि टेण्डर कान्तिपुरलाई दिनुपर्नेमा अहिलेसम्म त्यसको टुंगो लगाइएको छैन । र, पुरानै बज्र सेक्युरिटी सर्भिसलाई विभिन्न बहानामा म्याद थप्दै आएको छ ।