काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले आज बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्।
गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएका हुन्।
घाइतेको उद्धार र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्ने काम यथाशक्य गर्न र जिल्ला तथा प्रदेशको स्रोत साधनले नपुगेमा केन्द्रमा जानकारी गराउन उनले प्रजिअ र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए।
भूकम्पबाट साकेला गाँउपालिका–५ बृष्टि बस्ने विकास कटुवालको ढुंगा–माटोको गारो भएको घर, डाडागाँउ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको, हलेसीतुवाचुङ.नगरपालिका ९ सल्ले बस्ने ध्रुव पौडेलको ढुंगा–माटोको गारो भएको घर सामान्य चर्केको र सोही नगरपालिका ७ का सयङखुका गंगा राईको घर चर्किएको छ।