Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंकै उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण


    आइतबार, साउन १५ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं।  देशको सङ्घीय राजधानी काठमाडौँभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ। जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौँको रिङरोडभित्रै छन्। यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौँ जिल्लाका विभिन्न पालिकाबाट चुनावमा प्रतिस्पर्धा गरेका उम्मेदवारको पहुँच भने निर्वाचन कार्यालयसम्म भएको देखिँदैन। 

    निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर स्थानीय निर्वाचन–२०७९ मा काठमाडौँ जिल्लाबाट कुल तीन हजार ३१० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये करिब दुई हजार १५० जना पराजित उम्मेदवारले निर्वाचन खर्च अझै पनि बुझाएका छैनन्। 

    काठमाडौँ महानगरपालिकाको निर्वाचनको अन्तिम परिणाम जेठ ११ गते घोषणा भएको थियो। कानुनबमोजिम असार ११ गतेभित्र निर्वाचन खर्च बुझाउनुपर्नेमा उक्त समयभित्र महानगरका १८१ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतले बताउनुभयो। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईले असार १९ गतेसम्म निर्वाचन खर्च बुझाएका उम्मेदवारको सूची निर्वाचन आयोगमा पठाएको जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकामा विभिन्न पदका लागि ८२५ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये १९३ जनाले मात्रै आफ्नो निर्वाचन खर्च बुझाएका छन्। १२ जनाले त कानुनले तय गरेको समयसीमा बाहिर गएर निर्वाचन खर्च बुझाएका छन्। 

    उम्मेदवारमाथि कारबाही हुने 

    निर्वाचन आयोगले देशभरका ७५३ वटा पालिकाबाट आएको निर्वाचन खर्चसम्बन्धी विवरणमाथि विश्लेषण गर्दै छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केही दिनभित्रै उक्त विश्लेषण सक्ने बताउनुभएको छ। आयोगका अनुसार निर्वाचन खर्च समयमै बुझाउने, समयसीमाबाहिर गएर बुझाउने र खर्च नबुझाउनेगरी तीन प्रकारले तथ्याङ्क जुटाउने काम भइरहेको छ। 

    देशभर कुल एक लाख ४५ हजार १३ जनाले उम्मेदवारी दिएका थिए। सात हजार ९५१ जना गाउँ कार्यपालिका र नगर कार्यपालिका सदस्य निर्वाचित भएका छन्। करिब एक हजार २०० जना जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन्। यसरी करिब एक लाख ५३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाउनुपर्ने हो। तर प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार प्रारम्भिक अध्ययनबमोजिम एक लाख उम्मेदवार कारबाहीको दायरामा आउनेछन्।  आजको गोरखापत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार