काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा हैजाका विरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार मात्रै हैजाका बिरामीको संख्या १४ जना पुगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालयले सबैलाई आग्रह गरेको छ । ललितपुरमा पानीपुरीबाट हैजा सरेको आशंका गरिएको छ । हैजा पानीबाटै सर्ने रोग भएकाले प्रशोधित पानीमात्र उपभोग गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आग्रह गरेको छ । प्रशोधित पानी उपभोग गर्दा जारको लेबलमा डीएफटीक्यूसी नम्बर हेरेर मात्रै गर्न खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले सबैलाई अपिल गरेको छ ।
वर्षायाममा झाडापखाला रोगका विभिन्न हानिकारक सूक्ष्म जीवाणुहरूको सङ्क्रमण बढ्ने र त्यस्तो पानीको प्रयोगबाट रोगको सङ्क्रमण हुने सम्भावना रहेको जनाउँदै विभागले डीएफटिक्यूसी नम्बर हेरेर मात्रै पानी उपभोग गर्न उपभोक्तालाई अनुरोध गरेको हो । काठमाडौं उपत्यकामा हैजाका बिरामी देखिएपछि विभागले प्रशोधित पानी उपभोग गर्न र त्यस्तो पानी प्याकिङ गरिएका जार र बोतलमा डीएफटीक्यूसी नम्बर उल्लेख भए नभएको हेरेर मात्र पिउनका लागि अपिल गरेको छ ।
सम्पूर्ण उपभोक्ताहरूले प्रशोधित पिउने पानीको बोतल र जारको लेबलमा डीएफटीक्यूसी नम्बर उल्लेख भएको तथा बिर्कोे सिलबन्दी भएको सुनिश्चित गरेर मात्र प्रशोधित पिउने पानी उपभोग गर्न पनि विभागले अपिल गरेको छ । विभागले भनेको छ, ‘प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिम प्रावधानहरू पूरा गरी खाद्य ऐन नियम अनुसार अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गरेर उत्पादन र बिक्री गर्न उद्योगीलाई सूचित गरिन्छ, अन्यथा खाद्य ऐन नियम अनुसार कारबाही हुने ब्यहोरा जानकारी गराइन्छ ।’
हैजा कसरी फैलियो ? को जिम्मेवार ?
वर्षायाममा जताततैबाट पानीका मुहानहरुमा भलबाढी पस्ने र मुहानहरु नै दूषित हुने हुनालले प्रशोधित बोतल र जारको लेबलमा डीएफटीक्यूसी लेखेको पानी मात्र प्रयोग गर्नका लागि विभागले सार्वजनिक सूचनामार्फत् उपभोक्ताहरुलाई आग्रह गरेको छ । पानी मानिसको स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने चिज भएकोले गुणस्तरीय पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ जारी भएको र त्यसैमा टेकेर उत्पादित पानीको नियमित गुणस्तर परीक्षण र अनुगमन भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
नागरिकलाई शुद्ध पानी उपलब्ध गराउनुपर्ने दायित्व खानेपानीसँग सरोकार राख्ने निकायहरुको हो । सडकमा जताततै पाइपहरु लिक भइरहेका र बर्षायाममा त्यसैबाट प्रदूषित हुने कुरातर्फ सचेत हुनुपर्ने हो । तर खानेपानीसँग सम्बन्धित निकाय र संक्रामक रोग नियन्त्रणका लागि अरब भन्दा बढी बजेट भएको इपिडिमियोलोजी तथा संक्रामक रोग महाशाखा छन् । तर उनीहरुले हैजा जस्ता रोग नियन्त्रणका लागि पूर्व तयारी गर्नुपर्ने दायित्वबाट बिमुख भएर दोष जति जारको पानीतिर पन्छाई पानीमाथिको ओभानो हुन खोजेका छन् ।
जारकै पानीका कारण हैजा फैलिन पुगेको हो त ? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रशोधित जारको पानी उत्पादनको अनुज्ञापपत्र लिएका ३ सय १८ कम्पनी छन् । ती कम्पनीबाट उत्पादित पानीको औपचारिक–अनौपचारिक यो आर्थिक बर्षमा ३ पटक नमूना परीक्षण गरिएको बिभागका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार विभागबाट राजधानीमा नमूना परीक्षण गरिएका जारको पानी उत्पादन गर्ने प्रशोधित पानी उद्योगमध्ये एउटा कम्पनीको पानीमा इ–कोलाइ कोलिफर्म देखिएको छ । अरु कम्पनीमा छैन ।
बागबजारमा बस्ने दिदीबहिनीले जारकै पानी सेवन गरेका कारण हैजा लागेको प्रचार भइरहेको छ । जारकै पानी उपभोग गरेका कारण ती दिदीबहिनी बिरामी परेको अनर्गल प्रचार भइरहेको छ । र, सबै दोष खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागलाई लगाएर अरु निकाय उम्किन खोज्नु बिडम्बनापूर्ण हो । खानेपानी मन्त्रालय अन्तर्गतका निकाय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भने आफ्नो दायित्व बिर्सिएर अर्ति उपदेश दिन तल्लीन भएकोमा भने खाद्य प्रविधि विभागका अधिकारी आश्चर्यमा परेका छन् ।