काठमाडौं । सरकारसँग सहमति भए पनि फेरि पनि बन्चरेडाँडाबासीले फोहोर बोकेर गएका गाडी रोकेका छन् ।
फोहोरका कारण काठमाडौंको जनजीवन नै अस्तब्यस्त हुन थालेपछि सोमबार सहरी विकास मन्त्रालयमा सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिसँग सहमति भएको थियो । आजबाट फोहोर फाल्न दिने सहमति गरिए पनि बिहान गएका गाडी स्थानीयले बाटोमै रोकिदिएका छन् । सरकारसँग भएको सहमति नमान्ने भन्दै उनीहरुले फोहोर फाल्न नदिने भन्दै गाडी रोकेका छन् ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । त्यो सहमति अनुसार नै आज बिहान फोहोर बोकेका गाडी बन्चरेडाँडातिर गएका थिए ।
गएको १४ जेठदेखि काठमाडौं काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन ।