काठमाडौं । राजस्व छली गर्नेहरुको अनुसन्धानका लागि स्थापित राजस्व अनुसन्धान विभागलाई अस्थिर बनाउन खोज्ने एक समूहले विभागका महानिर्देशक सरुवा भएको हल्ला गरी भन्सार छली र राजस्व चुहावटलाई बढावा दिन सक्रिय रुपमा लागेको छ ।
प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागभित्रकै समूहले ब्यापारीहरुसँग डिल गर्न नपाएपछि महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको हल्ला गर्दैआएको छ । प्रधानमन्त्रीलाई नै कमजोर बनाउने गरी उक्त समूह महानिर्देशकलाई असहयोग गर्ने र सरुवा भएको हल्ला चलाएर तस्कर समूहलाई लाभ पुर्याउन तल्लीन भएर लागेको छ ।
राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक दिवस आचार्य, रसुवा भन्सार कार्यालयका प्रमु्ख रामप्रसाद मैनाली, सर्लाहीमा समन्वय नै नगरी छापा हान्न जाँदा स्थानीयको आक्रमणमा परी विभागका तानिएका नारायण मैनालीसहितको समूह महानिर्देशक सरुवा भएको हल्ला गरी तस्करहरुको पक्षपोषणमा लागेको छ । विभागका उपमहानिर्देशक आचार्यको काम त दिनभर प्रधानमन्त्रीश शेरबहादुर देउवाको उछित्तो काढ्दैमा बित्ने गरेको छ । मलाई उपमहानिर्देशक(डीडीजी)मा पठाएको छ, तर कुनै जिम्मेवारी तोकेको छैन भन्दै उनी महानिर्देशकको गुनासोमात्रै गरेर बस्ने गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमातहतमै कार्यरत रही त्यही निकायलाई कमजोर बनाउन महानिर्देशक सरुवाका लागि विभिन्न शक्तिकेन्द्रमा धाउने, पहल गरिदिनुपर्यो भन्दै गुहार्न तल्लीन छन् । बिचौलियाहरुमार्फत् महानिर्देशकको सरुवा भएको हल्ला पनि सँगसँगै फैलाउने गरेका छन् । भन्सारमा सेटिङ गरे पनि राजस्वले जफत गर्ने भएकाले महानिर्देशकको सरुवा हुने र त्यसपछि सामान आयात गर्नका लागि ब्यापारीलाई रसुवाका भन्सार हाकिम मैनालीले विश्वस्त पार्ने गरेका छन् ।