Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको भन्दै फोटो पत्रकार पौडेल साइबर ब्यूरोमा


    बिहिबार, जेष्ठ ५ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  सामाजिक सञ्जालमा आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको विषयमा सञ्चारकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेलले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् । 

    मोडलिङ एजेन्सीका सञ्चालक मनोज पाण्डेमाथि यौन शोषणको आरोप लगाउँदै सार्वजनिक भएको भिडियोको आधारमा टिकटक, इन्स्टाग्राम, फेसबुक र ट्विटरका केही प्रयोकर्ताहरुले आफ्नो चरित्रहत्या गरेको भन्दै पौडेलले ब्युरोमा उजुरी दिएका हुन्।

    एक युवतीले आफूमाथि भएको यौनशोषणको विवरण बाहिर ल्याएपछि त्यसमा आफूलाई अनावश्यक रूपमा मुछेर चरित्रहत्या गरिएको पौडेलको गुनासो छ ।

    पौडेलले आफ्नो तस्बिर प्रयोग गरी गालीगलौज र झूटो लाञ्छना लगाउने फेसबुक, इन्स्टाग्राम तथा टिकटकका अकाउन्टहरूको विवरणसहित ब्यूरोमा ठाडो उजुरी दिएका हुन् ।

    उनले व्यावसायिक कामको सिलसिलामा आफू काम गर्ने कार्यालयको स्टुडियोमा फोटो सुट गरेको र सार्वजनिक स्थानमा भएको कार्यक्रमको फोटो सुट मात्र गरेको उल्लेख गर्दै यसैको आधारमा गम्भीर आरोप लागेका पाण्डेसँगै आफ्नो नाम र तस्बिर प्रयोग गरेर गम्भीर अपराध गरेको अपराधी झैँ गरी सामाजिक सञ्जालमा राखेको उल्लेख गर्दै कारबाहीको माग गरेका छन् ।

    उक्त घटनामा आफू कतै संलग्न नरहेको र पीडितले पनि आफ्नो नाम नलिएको अवस्थामा आफू र परिवारलाई समेत मानसिक तनाव हुनेगरी दुष्प्रचार भएपछि प्रहरीमा पुगेको पौडेलले बताए ।

    सार्वजनिक भएको भिडियोमा युवतीले आफूले स्टुडियोमा फोटो खिचेको र पाण्डेको कार्यालयमा झगडा हुँदा आफू पुगेको बाहेक अन्य उल्लेख नभए पनि टिकटक, फेसबुक र ट्विटरका केही प्रयोगकर्ताले आधारहीनरुपमा लाञ्छना लगाई गम्भीर साइवर अपराध गरेको भन्दै उजुरीमा केही प्रयोगकर्ताको विवरण समेत उल्लेख गर्दै कारबाहीको माग गरेका छन् । 

    ब्युरोका एक अधिकारीले उजुरी परेको र त्यसबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

    मिस ग्लोबल इन्टरनेसनल- २०१४ नामक सौन्दर्य प्रतियोगितामा भाग लिएपछि आयोजक पक्षकै एक व्यक्तिले आफूलाई नशालु पदार्थ पिलाएर बलात्कार गरेको आरोप एक युवतीले लगाएपछि सामाजिक सञ्जाल तातिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार