Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा समाजवादीका उम्मेदवारको प्रतिबद्धताः बुढानीलकण्ठ नगरको मुख्य समस्या कपन डुबान समाधान गर्नेछौं


    आइतबार, बैशाख २५ २०७९
    680
    Shares
    Basu Dev Paudel
  • १३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बूढानीलकण्ठ नगर कमिटीले स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा समाजवादीका तर्फबाट बुढानीलकण्ठ नगरपालिकाका मेयरका उम्मेदवार बालकृष्ण श्रेष्ठ र उपमेयर प्रमिला सापकोटाको टीमले शनिबार पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । ‘जनमुखी स्थानीय सरकार ः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ नेकपा (एकीकृत समाजवादी) चुनावी मैदानमा उत्रिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    काठमाडौँ महानगरपालिकाकोे उत्तर तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको दक्षिण काखमा अवस्थित बुढानीलकण्ठ नगरपालिका प्राकृतिक, सांस्कृतिक, भाषिक, जातजाति, वेशभूषा, जात्रा, चाडपर्व, संस्कार आदिमा विविधता भएको अति नै सुन्दर, सांस्कृतिक सम्पदा सम्पन्न, हरियालीयुक्त नगरपालिका हो । साविकका ६ गाउँपालिका कपन, चुनीखेल, महाङ्काल, खड्काभद्रकाली, विष्णुबूढानीलकण्ठ र चपलीलाई बुढानीलकण्ठ नगरपालिका बनाइएको हो ।

    नेकपा समाजवादीका उम्मेदवारहरुलाई नगरबासीलाई मत दिएर जिताउन आग्रह गरेका छन् । नेकपा समाजवादीले बुढानीलकण्ठ नगरपालिकाको विकासका लागि प्रस्तुत गरेका मुख्य एजेन्डामा कपन डुबान समस्या समाधानका लागि नगरको स्रोतको मात्र भर नपरी प्रदेश र राष्ट्रियतहमै पहलकदमी लिने मेयरका उम्मेदवार बालकृष्ण श्रेष्ठले बताए । कपन डुबान समस्या समाधान र बुढानीलकण्ठ मन्दिरको विकासलाई गौरबका आयोजनाका रुपमा अगाडि बढाउने मेयर उम्मेदवार श्रेष्ठले बताए ।  

     बूढानीलकण्ठ नगर कमिटीको तर्फबाट जारी गरिएको प्रतिबद्धतापत्र र मार्गचित्र केही महत्वपूर्ण बिषय यसप्रकार छन्ः 

    सुशासन

    एकीकृत समाजवादीबाट विजयी जनप्रतिनिधि तथा पार्टीमा आबद्ध सबै सदस्यले सुशासन कायम गर्ने छन् र भ्रष्टाचारलाई न्यूनविन्दुमा झार्न निरन्तर खटिरहने छन् । कुशासन भनेको भ्रष्टाचारको आधार स्तम्भ हो, यसले राष्ट्रलाई खोक्रो पार्छ,  राष्ट्रियता कमजोर हुन्छ । भाषणले मात्र राष्ट्रियता बलियो हुँदैन । सुशासनमा पारदर्शिता, जिम्मेवारी, दक्षता, जनमैत्री सेवा प्रवाह आदि समावेश हुने भएकाले भ्रष्टाचार स्वतः कम हुँदै जान्छ । एकीकृत समाजवादीका जनप्रतिनिधिले जिम्मेवारी र पारदर्शिता सहितको सुशासन कायम राख्ने छन्, ढिलासुस्ती हट्ने छ, विकासनिर्माण समयमै सम्पन्न हुनेछन् । आर्थिक गतिविधि बढ्ने छ । अनि समृद्धिको ढोका खुल्ने छ, जनचाहना क्रमशः पूरा हुनेछन् ।

     निर्वाचित स्थानीय तहले तिरो तथा कर असुली, नक्सा पास, जन्म–मृत्यु दर्ता सिफारिस, सङ्घ–संस्था दर्ता आदि विषयमा सहज, सरल, छरितो एवं प्रविधिमैत्रीसेवा दिनेछन् । पानी, बिजुली बत्ती, अस्पताल, स्वास्थ्यचौकी, फोहोरमैला व्यवस्थापन, हरियाली, साना–ठूला सडक निर्माण, सरसफाइ, तरकारी, फलपूmल, खाद्यान्न बजारजस्ता नागरिकको दैनिक सरोकारका विषयलाई सुव्यवस्थित गर्नु हाम्रो दायित्व हो । सामुदायिक विद्यालय तथा क्याम्पसको शिक्षालाई व्यवस्थापन, सूचना प्रविधि र कम्युटर शिक्षा आदिमा जोड दिई गुणस्तरीय बनाइने छ । स्थानीय सरकारले बालबालिका, युवा, ज्येष्ठ नागरिक, एकल महिला, सुकुम्बासी र सहाराविहीनको पहिचान गरी निष्पक्ष ढङ्गले आवश्यकता बमोजिम सेवा प्रवाह गर्ने छन् । सुशासनमा बूनपाको छुट्टै पहिचान स्थापित गरिने  छ ।  

    ‘वैज्ञानिक शिक्षा, उचित स्वास्थ्य एवं सुशासन हाम्रो अभियान’ अन्तर्गत नेकपा (एकीकृत समाजवादी) का जनप्रतिनिधिले नगरलाई समृद्ध, स्वच्छ, हराभरा र प्रदूषणमुक्त आवासीय सहर बनाउन पूर्णरूपमा नागरिकहरुप्रति उत्तरदायी भई काम गर्ने छन् । विना झन्झट, छिटोछरितो एवं जनमैत्री सेवा दिनु मूल कर्तव्य हुनेछ । आवश्यकता अनुसार नगरपालिकाको संरचनागत परिवर्तन गरिने छ । 

    सम्पन्न बुढानीलकण्ठ

     उत्तर दिशामा शिवपुरी पर्वत र दक्षिणी भाग भिरालो भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज रहेको हुनाले यो नगर उत्तम पर्यावरणीय क्षेत्र बन्न पुगेको छ । यस नगरको ४२ प्रतिशत भूभाग वनजङ्गलले ढाकेका कारणले हराभरा, प्रदूषणमुक्त नगरको पहिचान पनि बनेको छ । यसको संरक्षण र सम्बद्र्धन गरी पर्यावरण अनुकूल बनाइएमा यो पहिचानको सार्थकता हुने छ ।

     नाम्खा, डाङ्यूर झयाङ्गतेरा दाग्र्यालिङ गुम्बालगायत ऐतिहासिक एवं धार्मिक महत्व राख्ने १९ भन्दा बढी बौद्ध गुम्बा रहेकाले काठमाडौँ उपत्यकाका अन्य नगरमध्ये सबैभन्दा बढी गुम्बा भएको बुढानीलकण्ठ बौद्ध धर्मावलम्बीको धार्मिक पहिचानको केन्द्र बनेको छ । बाइस फिट लम्बाइ  र  १२ फिट चौडाइको विशालकायी बुुढानीलकण्ठ नारायणको मूर्ति ऐतिहासिक, पुरातात्त्विक एवं पौराणिक महत्त्वले गर्दा सनातनी हिन्दूका शैव तथा वैष्णवको मात्र नभई बौद्ध  र किरात धर्मावलम्बीसमेतको आस्थाको धरोहर बन्न पुगेको छ । वाग्द्वार, विष्णुद्वार, शिवपुरी बाबाको तपस्यास्थल, रुद्रेश्वर, भद्रकाली, पञ्चकन्या, सिद्धेश्वर, कृष्ण, शिव आदि मठमन्दिरले यो नगर सनातनी हिन्दू धर्मावलम्बीको पहिचान बनेको छ । यो नगर धार्मिक, सांस्कृतिक, भाषिक, जातिगत सहिष्णुताका साथै विविधताको अनुपम सङ्गम हो । तामाङ, नेवारसहित अन्य धेरै जातजातिको अति प्राचीन संस्कृतिको केन्द्र पनि यही नै हो ।  

     सभ्य, सुसंस्कृत, सुरक्षित, आधुनिक प्रविधीमैत्री र सुविधा सम्पन्न नगर निर्माणका लागि प्रशस्त सम्भावना रहेको यो नगरपालिका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूले सम्पन्न छ । वागमती, रुद्रमती र विष्णुमतीको सभ्यता, प्राचीन वैदिक, बौद्ध तथा किरात दर्शनमा आधारित रहेर स्थापना भएका गुम्बा, स्तूपा, मन्दिरका साथै शिवपुरी जलाधार क्षेत्र र निकुञ्ज यस नगरपालिकाका अमुल्य सम्पत्ति हुन् । ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ नगरलाई सभ्य, सुसंस्कृत, सफा, हरियाली र स्वच्छ वातावरणयुक्त, वैज्ञानिक, रोजगारीमुलक तथा व्यावहारिक शिक्षा, स्वास्थ्य सुविधाका दृष्टीबाट आधुनिक सुविधा सम्पन्न नगरका रूपमा स्थापना गर्न सकिने सम्भावना रहेकोछ । त्यसका लागि सङ्घ, प्रदेश, सङ्घ संस्था, विज्ञ आदिसँग  समन्वय र सहयोगमा तात्कालीन, मध्यकालीन र दीर्घकालीन दृष्टि, लक्ष्य, नीति र पञ्चवर्षीय विकास खाका एवं कार्यक्रम बनाई निरन्तर काम गरिने छ ।  जनसरोकार र  विकास निर्माणका काम गर्न तथा सुशासन कायम राख्न जनप्रतिनिधिहरु निरन्तर खटेर काम गर्नेछन् । नागरिक तहबाट जन प्रतिनिधीका कामको मुल्याँकन गर्ने परिपाटीको विकास गर्नुका साथै पार्टीका तर्फबाट समेत नागरिकको अपेक्षा अनुरुप काम भए नभएको विषयमा अध्ययन गरिनेछ ।

    नारा, भाषण, गफ, गाली–गलोज र उखानटुक्काले समाजवादोन्मुख समाज निर्माण हुँदैन । समाजवादतर्फ उन्मुख हुन नेपालको संविधानमा व्यवस्था भएका मौलिक हकहरूलाई क्रमशः लागु गर्दै जाने वातावरणको सिर्जना गर्नुपर्छ । गुटवाद, अहंवाद र  देवत्वकरण प्रवृत्ति कम्युनिस्ट सिद्धान्त होइन । त्यस्ता तत्त्व  र गुट प्रवृत्तिलाई निर्मम प्रहार गर्न हामी सबैलाई आग्रह गछौं ।   

    फराकिलो तथा स्वच्छ सोच, स्पष्ट लक्ष्य, जिम्मेवारी बोध, काम प्रतिको प्रतिबद्धता जस्ता विषय समाज तथा राष्ट्र निर्माणका लागि आवश्यक पर्ने विषय हुन् । वार्षिक, पँच वर्षीय, दश बर्षीय तथा बिस बर्षीय लक्षका साथ कार्यक्रम कार्यान्वयनको प्रतिबद्धताले मात्र नगरको मुहार फेरिन सक्छ । त्यसका लागि हाम्रो पार्टी प्रतिबद्ध छ । बूढानीलकण्ठ नगरपालिकालाई सुविधासम्पन्न, सभ्य, उन्नत, हराभरा र प्रदूषणमुक्त नगरमा रूपान्तरण गर्न एकीकृत समाजवादी प्रतिबद्ध छ । 

    पर्यटन केन्द्र 
    बुनपालाई नमुना पर्यटकीय केन्द्रका रूपमा विकास गरिने छ । पुरातात्विक क्षेत्र,    बूढानीलकण्ठ मन्दिर लगायत थुपै्र मन्दिर र प्रख्यात बौद्ध गुम्बा, वागद्वार एवं विष्णुद्वार यहाँका धार्मिक र सांस्कृतिक धरोहर हुन् । नगरको उत्तरी क्षेत्रस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, त्यहाँका विभिन्न प्रजातिका वनस्पति, वन्यजन्तु र चराचुङ्गी यस नगरको महत्वपूर्ण पर्यटकीय सम्पत्ति हुन् । नगरका नजिक रहेका दर्जनभन्दा बढी पदमार्गहरु  (Hiking Trails), साहसिक साइकल मार्ग र तारेभिर चट्टान आरोहण (Rock Climbing) साहसिक पर्यटनका गन्तव्य हुन् । विभिन्न जातिको मौलिक संस्कृति, वेशभूषा, चाडपर्व आदिका कारण यस नगरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावनालाई मध्येनजर गरी पर्यटन क्षेत्रको विकासका लागि कार्य गरिनेछ ।  

    शैक्षिक केन्द्र

      दक्ष र सिर्जनशील जनशक्ति उत्पादन गर्ने हेतुले विसं २०२९ (सन् १९७२) मा स्थापना भई विद्यार्थीको पढाइसँगसँगै, खेलकुद, नेतृत्व विकास, व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापमा जोड दिनाका साथै विज्ञान सङ्काय, ए र ओ लेभलको पठनपाठन गरी अन्तरराष्ट्रिय स्तरको पहिचान बनाएको बूढानीलकण्ठ बोर्डिङ स्कुल, जमिनको उपलब्धता र आवश्यक पूर्वाधारका कारण विश्वविद्यालयमा रूपान्तरण गर्न सम्भावना रहेको छ ।  त्यसैगरी मध्य राजधानी सहरबाट खुला जग्गाका अभावमा केही अब्बल दर्जाका महाविद्यालय यहाँ स्थानान्तरण भइआएका छन् । अन्य कतिपय ऐतिहासिक महाविद्यालय क्षेत्रफल, पठनपाठनमा अनुकूल वातावरणका अभावमा स्थानान्तरण हुन चाहेकाले यस नगरभित्र रहेको सार्वजनिक जग्गा उपलब्ध गराई चर्चित विद्यालय, विश्वविद्यालय एवं तत्सम्बन्धी शैक्षिक प्रतिष्ठानका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि पहल गरिने छ ।  

    पारदर्शिता र सुशासन

     काम व्यवस्थित, सहज र छिटोछरितो ढङ्गबाट गर्न सबै वडामा टोकनको व्यवस्था सहित सेवाग्राही कक्ष राखिनेछ । 
     शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई प्राथमिकतामा राखी सेवा दिइनेछ । 
     सेवाग्राहीलाई पिउने पानी तथा चियाको ब्यबस्था गरिनेछ । 
    आयोजना, कार्यक्रम, कार्यान्वयनको अवस्था, आर्थिक विनियोजन, खर्च र प्रगतिबारे पारदर्शी बनाउन नागरिक सुनुवाइको व्यवस्था गरिनेछ ।
     जनसरोकारका सेवालाई आव २०८०। ८१ देखि अनलाइन मैत्री बनाइनेछ । 
    नगरका सबै वडाबाट राष्ट्रिय परिचयपत्र वितरणको लागि पहल गरिने छ । ज्येष्ठ नागरिक परिचयपत्र सहज रूपमा वितरण गरिनेछ । 
     सामाजिक सुरक्षा परिचय पत्र तथा भत्ता सहज रुपमा उपलब्ध गराइनेछ । 
     वडा कार्यालयहरू ज्येष्ठ नागरिक तथा अशक्त–अपाङ्गता मैत्री बनाइनेछ । 
     महिला हिंसा, घरेलु हिंसा आदिमा उजुरी दिन प्रहरीसंगको सम्पर्कका लागि सहजीकरण गर्न २४ घन्टे टेलिफोन हटलाइन सेवा उपलब्ध गराइनेछ । 
     कर्मचारी र जनप्रतिनिधिका लागि क्षमता अभिबृद्धि तथा सुशासन सम्बन्धी अभिमुखीकरण तालिम दिइनेछ । 
    सेवाग्राहीको रुपमा वडा तथा नगरपालिकामा जाने नगरबाशीहरु स्वयमले फाइल बोकेर कोठा कोठा हिड्नु पर्ने ब्यबस्थाको अन्त गर्दै काममा सहयोग गर्न सहयोगीको ब्यबस्था गरिनेछ । 
    सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा 
     विषयगत विज्ञ, अनुभवी र अभिभावकको प्रतिनिधित्व हुने गरी व्यवस्थापन समिति गठन गरिने छ । मापदण्डका आधारमा सामुदायिक विद्यालयमा खेलकुद मैदान      (साना, ठूला), कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, इन्टरनेट आदिको व्यवस्था 
    गरिनेछ ।
    पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरी सिङ्गो नगर, एक विद्यालय’ अवधारणालाई कार्यान्वयन गर्न निजी र सामुदायिक विद्यालयमा एउटै पाठ्यक्रम, एउटै पोसाक, विदा र अन्य शैंक्षिक गतिविधीमा एक रुपता लेराइनेछ ।
     प्राविधिक तथा रोजगारीमूलक शिक्षा प्रदान गर्ने विद्यालयलाई प्रोत्साहन दिइने छ । 
     शिक्षक, प्रशासक, राजनीतिकर्मी लगायतका सन्ततिको पनि रोजाइमा पर्ने गरी सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरिनेछ । सबै वडामा मन्टेश्वरी शैक्षिक संस्था स्थापना गर्नाका साथै स्कुल पढ्न जान नभ्याउने बालबालिकालाई ध्यानमा राखी  वैकल्पिक विद्यालयको व्यवस्था गरिनेछ । अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको छात्रवृत्ति दिइनेछ ।
     नगरमा रहेका गुरुकुल र गुम्बामा हुने शिक्षालाई गुणस्तरीय बनाउँदै राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्नका लागि पहल एवं सहजीकरण गरिने छ । 
     योग र प्राकृतिक चिकित्सा शिक्षा, नैतिक शिक्षा, ट्राफिक, सरसफाइ र पर्यटनलाई प्रारम्भिक शिक्षाको पाठ्यक्रममा समावेश गरिने छ । नगरपालिका कार्यालयमा छुट्टै योग र प्राकृतिक चिकित्सा शाखा खोलिने छ । 
     संस्कृत र नेपालीका साथै अङ्ग्रेजी एवं संयुक्त राष्ट्र सङ्घका आधिकारिक वा एक अन्तरराष्ट्रिय भाषालाई अतिरिक्त विषयका रूपमा राखिनेछ ।
     नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति एवं शैक्षिक सामाग्री, पुस्तक, कापी, विद्यालय पोसाक आदि निःशुल्क उपलब्ध गराउन प्रेरित गरिनेछ । 
     सामुदायिक, निजी र सामुदायिक क्याम्पस बीच विभिन्न अतिरिक्त क्रियाकलाप प्रतियोगिता गराइनेछ । 
     उच्च नतिजा ल्याउने विद्यालयलाई सम्मान एवं विशेष पुरस्कार दिइनेछ ।
    प्राविधिक विषयमा स्नातकोत्तर तहमा उच्च अङ्क  ल्याउने विद्यार्थीलाई नगरले सम्मान गर्नेछ ।  

    सामुदायिक क्याम्पस, शैक्षिक केन्द्र निर्माण, शैक्षिक, प्राविधिक छात्रवृत्ति, व्यावसायिक तालिम,  स्वास्थ्यचौकी र अस्पतालको व्यवस्थापन, निःशुल्क औषधि र स्वास्थ्य सेवा, स्वास्थ्य प्रयोगशाला स्थापना, एम्बुलेन्स सेवा,स्वास्थ्य स्वयम सेविका सम्बन्धमा, विपन्न नागरिकलाई सहयोग सम्बन्धी व्यवस्था, ब्यबसाय सञ्चालन तथा रोजगारी सृजना सम्बन्धमा, कृषिको विकास र कृषि उद्योग स्थापना तथा कृषि बजार व्यवस्थापन गर्ने लगायतका प्रतिबद्धता समेटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार