Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १४ दिनपछि सुरक्षाकर्मीको सहयोगमा उठाउन थालियो उपत्यकाको फोहोर


    शनिबार, बैशाख २४ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजदेखि काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।

    स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य शनिबारदेखि गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानीय तहको फोहर सडकमा नै थियो ।

    पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो ।

    पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।

    फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमानै फोहोर रहँदा समस्या सुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार विसं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।

    हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ ।

    हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर सिसडोल लैजाने गरिन्छ ।

    उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन ।

    नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार