तनहुँ । तनहुँको १० स्थानीय तहको ८५ वडामा एक हजार ६३५ उम्मेद्वारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् । सबैजसो उम्मेद्वार यतिबेला मत माग्दै घरदैलो गरिरहेका छन् । हरेक घरमा पुगेर आश्वासन बाड्दै छन् उम्मेद्वारहरू । घरमा नभेटेका मतदातालाई खेतबारीमा पुगेर भेट्दै छन् । खेतबारीमा काम पनि सघाएजस्तो गर्छन् उम्मेद्वारहरूले केहीबेर ।
मतदाता रिझाउन ठाउँ ठाउँमा चुनावी सभा पनि भइरहेका छन् । उम्मेद्वारलाई भोट मागेको जिंगल र राजनीतिक दलको चुनावी गीत घन्काउँदै चुनावी प्रचारप्रसार भइरहेको छ । यसपालि उम्मेद्वारले प्रचारप्रसारका लागि सामाजिक सञ्जालको पनि अधिकतम प्रयोग गरिरहेका छन् । विशेष त फेसबुक र टिकटकमा बढी प्रचार गरेको देखिन्छ । चुनावी घोषणापत्रको सार्वजनिकसँगै घरदैलो अभियानको प्रचारप्रसार फेसबुकमार्फत भइरहेका छन् । फेसबुक र टिकटकमा भिडियो बनाएर भोट अपिल भइरहेका छन् । सामाजिक सञ्जालको दुनियाँमा प्रवेश नै नगरेका उम्मेद्वारको पनि प्रचारप्रसार समूहले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् ।
व्यास नगरपालिकाको मेयरमा दोहोरिनलाई नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका बैकुण्ठ न्यौपाने उम्मेद्वारी दर्तासँगै फेसबुकमा जोडिएका छन् । उनको प्रचारप्रसार समूहले फेसबुक पेज खोलेर अपडेट गरिरहेका छन् । बैकुण्ठको घोषणापत्रसँगै घरदैलो अभियानमा गरेको सम्बोधनको भिडियो पेजमा अपडेट गरिन्छ । फेसबुकले प्रचारप्रसारसँगै जनतासँग जोडिन सहज बनाएको मेयरका उम्मेद्वार न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘घरदैलो गरिरहेको छु । सबै घरमा पुग्नलाई पनि सम्भव हुदैन । तसर्थ सामाजिक सञ्जालबाट पनि टिमले प्रचारप्रसार गरिरहेको छ ।’ फेसबुकको पोस्टमा आएका प्रतिक्रियाको अध्ययन गर्ने र सुझावको रूपमा ग्रहण गर्ने गरेको उनले बताए ।
शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएर चुनावी मैदानमा होमिएका एमालेका मुक्तिनाथ तिम्लिसिनाको पनि घरदैलोसँगै फेसबुक र टिकटकमा प्रचारप्रसार भइरहेको छ । उनी घरदैलोमा व्यस्त छन् । उनको प्रचारप्रसारमा खटिएको युवाको टिमले भोट आह्वान गरेको तस्बिर र भिडियो अपडेट गरिरहेका छन् । सामाजिक सञ्जालको प्रयोगले प्रचारप्रसारमा निकै सहज बनाएको तिम्लिसिनाले बताए । ‘सबै ठाउँमा घरदैलो गर्नलाई पनि समय छोटो हुँदा सम्भव नहुने रहेछ । यसपालि प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग भइरहेको छ । सामाजिक सञ्जालको पहुँच राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पनि हुने भएकाले हाम्रो एजेन्डाहरू राख्न पाएका छौँ । त्यहाँबाट धेरै सुझावहरु पनि लिएका छौँ । उम्मेद्वारहरुलाई प्रविधिमैत्री बन्न पनि सिकाएको छ’, उनले भने । आफ्ना घोषणपत्रमा उल्लेख नभएका तर देशविदेशमा रहेका शुक्लावासीले सामाजिक सञ्जालबाट दिएको सुझावलाई घोषणा पत्रमा समेट्ने गरेको तिम्लिसिनको भनाइ छ । सामाजिक सञ्जालमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दा वैदेशिक रोजगारीमा भएकाहरूले आफ्ना परिवारका सदस्यलाई भोट हाल्न लगाउने उनको विश्वास छ ।
अहिले हर घरमा सामाजिक सञ्जाल प्रयोगकर्ता भएकाले चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल प्रयोग गरिरहेको शुक्लागण्डकी नगरपालिकामा गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेद्वारी दिएका खुमबहादुर विक राजुले बताए । ‘गाउँ गाउँमा सबैसँग मोबाइल छन् । सामाजिक सञ्जालमा प्रतिबद्धतापत्र, भिडियो र फोटोहरू पोस्ट गर्न पाउँदा सहज भएको छ । उम्मेद्वारहरूलाई चिनाउन पनि सघाएको छ’, उनले भने । आफ्नो घोषणापत्रमा प्रविधिलाई पनि जोड दिएको उनले बताए ।
उम्मेद्वारहरुले फेसबुक पेजमा प्रतिबद्धताको फोटो भिडियो बुस्ट गरिरहेका छन् । जस्ले गर्दा लाखौँ रुपैयाँ प्रचारप्रसारमा विदेशीँदै छ । अर्कोतर्फ स्थानीय सञ्चार माध्यमको आम्दानी पनि घटाएको छ । सामाजिक सञ्जालकै कारण सञ्चार माध्यमसँग उम्मेद्वार टाढिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जवल पौडेल बताउँछन् ।
‘उम्मेद्वारको एजेन्डादेखी चुनावी कार्यक्रम र घरदैलोको तस्बिर सामाजिक सञ्जालमै राख्ने तर सञ्चार माध्यमसँग नआइपुगेको हो कि जस्तो देखिन्छ । विगतको निर्वाचनको तुलनामा विस्तारै सामाजिक सञ्जालले सञ्चार माध्यमलाई उछिनेको महसुस गराएको छ’, पौडेलले भने । एकातिर निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेको कारण उम्मेद्वारको प्रचारप्रसार गर्न सञ्चार माध्यमलाई रोक लगाएको छ । अर्कोतर्फ उम्मेद्वार सामाजिक सञ्जालमा केन्द्रित हुदा आचारसंहिताले तोकअनुसार प्रचारप्रसार सामाग्रीको विज्ञापन निकै कम आएको पौडेलको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend