बीरगंज । पर्साको भिस्वा बीओपीका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह तस्करलाई सहयोग गरेको र तस्करीको समान पास गराएको आरोपमा आईतबार बिहान बाहिनी तानिएका थिए । सशस्त्र प्रहरी निरीक्षक साहले सेटिङमा व्यापक मात्रामा तस्करी गराएको समाचार प्रकाशन भएपछि साहलाई माथिल्लो निकायको निर्देशनमा मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालयमा अनुसन्धानका लागि तानिएको थियो ।
बाहिनीबाट समिति गठन गरी ३९ नं गणका एसपी लेखनाथ खनाल, गण नं १३ का डिएसपी सुमन थापा र इन्स्पेक्टर भरत गौतमसहितको टोली छानबिन गर्न सोमबार २१ गते भिस्वा पुगेको थियो । तस्करसँग मोटो रकम बुझी तस्करीमा सहयोग गरी संगठनकै बदनाम गराएका इन्स्पेक्टरलाई माथिल्लो निकायमा देखाउनका लागि बाहिनीमा तानेर छानबिन सुरु गरे पनि कुनै कारवाही नै नगरी झन् साँठगाँठ गर्नका लागि सेटिङ मिलाएर हिस्सा बुझाउनेगरी ससम्मान फर्काइएको छ ।
छानबिनका लागि तानिएका इन्स्पेक्टर साहलाई ससम्मान सोही बीओपीमा पठाउनुले शून्य सहनशीलताको सशस्त्रको नीतिकै धज्जी उडाउने कार्य भएको छ । मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले इन्स्पेक्टर साहलाई छानबिनको नाममा झारा टार्ने काम गरी पुनः सोही ठाउँमा पठाएको आरोप छ । यसबारेमा बाहिनीपति डीआइजी गणेश ठाडामगरले भने–‘छानबिन भइरहेको छ । छानबिन प्रतिवेदन नआउन्जेलसम्मका लागि पठाइएको हो । छानबिन प्रतिवेदनले दोषी देखाएमा उनलाई कारबाही हुन्छ ।’
छानबिन टोलीले भन्सारछलीका सामान पास गराएको फेलापारेकोबारेमा डीआइजी मगरले भने–‘छानबिन प्रतिवेदनमा त त्यस्तो छैन, भेट्टाएको भए त प्रतिवेदनमा उल्लेख हुनुपर्ने हो ।’