काठमाडौं । लोकतान्त्रिक शक्तिहरु नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी र जनता समाजवादी पार्टीबीच स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनको बिरोध गर्नमै अधिकांश समय ब्यतित गर्दैआएका एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावमा तालमेल गर्न पुगेका छन् ।
राप्रपाका दुवै घटकसँग एमालेले गठबन्धन गर्ने भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको मूलधार र अर्को कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि ओलीले चुनावमा गठबन्धन गर्ने भएका छन् ।
लोकतान्त्रिक शक्तिहरु सम्मिलित गठबन्धनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि चुनावमा तालमेल गर्नका लागि वार्ता गरिरहेको छ । २०७७ फागुुन २३ गते सर्वोच्चले माग्दै नमागेको नेकपाको एकता खारेज गरी परमादेशबाट जन्मिएको एमाले पार्टीले संविधान बिपरीत २ पटक संसद बिघटन गरेर प्रतिगमन गरेकाले उक्त पार्टीसँग चुनावी तालमेल गर्न कुनै पनि लोकतान्त्रिक शक्ति तयार नभएपछि निरंकुश पंचायतकालका पंचहरुको नेतृत्वको राप्रपासँग पुगेको छ ।