काठमाडौं । वीर अस्पतालले २०७८ फागुन २६ (१०–३–२०२२) गते १० वटा ५ करोडको ओटी लाइट IFB No: NAMS/NCB/78/79/43 को टेन्डर आह्वान गरेको थियो ।
सो टेन्डर आह्वान अगाडि अस्पतालले स्पेक बनाउन युरोलोजी विभागका विवादित डा. अनिल श्रेष्ठलाई जिम्मा दिएको थियो । उनले स्पेसिफिकेशन बनाउँदा आफूलाई कमिसन दिने अलाइन्सी कम्पनीलाई मात्र हुनेगरी बनाइएको खुलेको छ । kls martin कम्पनीले मात्र टेन्डर पाउने गरी स्पेक बनाएपछि हाल सर्जिकल उपकरण बजारमा विवाद शुरू भएको छ । अन्य ब्यापारीहरुले आफूहरूलाई टेन्डर फाराम भर्न नपाउने गरी स्पेफिकेशन बनाएको भन्दै डा.अनिलबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय, सम्पत्ति शुद्धिकरण र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिने समेत तयारी गरिरहेका छन् ।
गएको मार्च २९ तारिखमा अस्पतालले प्रि–बिड मिटिङ राखेर सबै ब्यापारीको राय समेत बुझेको थियो । सो मिटिङको सुझाव विपरीत डा. अनिल श्रेष्ठले पुनः आफ्नै कम्पनीलाई हुनेगरी केही बुँदा थप गरेपछि अस्पतालको टेण्डर झन् विवादित बन्न पुगेको छ । युरो सर्जिकलको ४ करोडको सामानमा पनि डा.अनिल र खरिद एकाईका शाखा अधिकृत डमरु दाहालले टेण्डर हुनु भन्दा पहिले नै ब्यापारीसँग कमिसन लिंदै होटल होटलमा गई स्पेक बनाई अस्पताल प्रशासनलाई दबाब दिई सोही अनुसार टेन्डर आह्वान गर्ने गरेका छन् ।
डा. अनिलमाथि वीर अस्पतालको युरो विभागमा आउने विरामीलाई अस्पतालमा बेड छैन भन्दै आफू कार्यरत बी एण्ड बी र मेडिसिटी लगायत अस्पतालमा बोलाउने गरेको आरोप छ । उनले वीरमा आउने बिरामीलाई बीएण्डबी र मेडिसिटीमा बोलाएर लाखौं असुली अपरेसन गर्ने गरेका छन् । वीरमा अपरेसन गर्ने अत्याधुनिक उपकरण हुँदाहुँदै उनले प्राइभेट अस्पतालमा रिफर गर्ने गरेका छन् । उनलाई वीरमा बिरामी बेच्ने डाक्टरको संज्ञा दिने गरिएको छ ।
उता, खरिद एकाईका डमरु दाहाललाई अस्पतालमा हुने टेन्डर पहिल्यै आफूनिकट ब्यापारीलाई भन्ने र होटल होटलमा गई स्पेक मिलाउने गरेको आरोप छ ।