Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जयनगर-कुर्थामा आजदेखि यात्रुसहित रेल सेवा, कति छ भाडा?


    आइतबार, चैत्र २० २०७८
    520
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । जयनगर–कुर्था रेल्वे खण्डमा आज बिहानदेखि यात्रुसहितको रेल सेवा सुरु भएकाे छ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए ।

    आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आएकाे नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

    उनकाअनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ। जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ।

    जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले बताए।

    जयनगर पुगेको रेल पुनः अपरान्ह ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनको भनाइ छ।

    जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ। खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए।

    सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ।

    यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले बताए।

    दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ।

    त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचान पत्र लिनुपर्ने जनाइएको छ।

    जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादरसमेत कायम गरिएको छ। जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ४५० भाडा निर्धारण गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार